भारतले मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्वीन (एचसीक्यु) ट्याब्लेट नेपाल, भुटान र बंगलादेशमा आपुर्ती गरिने बताएको छ । यी मुलुकहरु पूर्णरुपमा भारतको औषधिमा निर्भर रहने भएकाले सहजरुपमा आपुर्ती गर्ने व्यवस्था मिलाउने भारतले जनाएको हो ।
सार्कका व्यापार अधिकारीहरुको भर्चुअल बैठकमा भारतले उक्त कुरा बताएको हो । भारतले गत मंगलबार प्यारासिटामोल र एचसीक्यु माथि लगाइएको आपुर्ती प्रतिबन्धलाई खुकुलो बनाएको थियो । यी दुवै औषधि कोरोना भाइरसको उपचारका लागि प्रयोग हुन्छन् ।
‘हामी बिशेषगरि नेपाल र भुटानलाई सहयोग गर्ने र्छौं । यी देशहरु औषधिहरुको लागि पूर्णरुपमा हामी माथि नै निर्भर रहेका छन्,’ एक भारतीय अधिकारीले भने ।
भारतलाई सार्क लगायत बिभिन्न ३० देशहरुले यी औषधिहरुको निर्यातको लागि आग्रह गर्दै आएका छन् । नेपालले पनि भारतलाई त्यस्तो आग्रह गरेको थियो । भारतले अन्य देशहरुलाई भने आफ्नो आन्तरिक मागलाई हेरेर मात्र निर्यात सम्बन्धी निर्णय लिइने बताएको छ ।
बुधबार सम्पन्न उक्त सार्क बैठकमा पाकिस्तान बाहेक सार्कका अन्य सबै सदस्य राष्ट्रहरुले भाग लिएका थिए ।
मलेरियाको उपचार गर्ने उक्त औषधिको भारत विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो । भारतले वर्षेनी ५ करोड डलर बराबरको यो औषधि निर्यात गर्दै आएको छ ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो औषधिले कोरोना भाइरसको उपचार गर्न सक्ने बताएपछि यसको माग विश्वव्यापी रुपमा यसको चर्चा एवं माग बढ्दै गएको छ ।
हालै ट्रम्पले भारतलाई एचसीक्युको निर्यात प्रतिबन्धलाइ खुुकुलो नबनाए आफुहर बिचको सम्बन्ध बिग्रन सक्ने भनेर भारतलाई चेतावनी समेत दिएका थिए ।
अमेरिकामा ट्रम्प र उनका नजिकका मानिसहरुको यस्तो औषधि बनाउने कम्पनी भएका कारण आफु र आफ्ना नजिकका मानिसहरुको व्यवसायीक स्वार्थको लागि उनले यस्तो हल्ला फैलाएको भनेर आलोचना पनि भइरहेको छ । उनी बिरुद्ध केही मुद्दाहरु पनि परेका छन् ।