पूर्व र पश्चिमका सिमेन्ट उद्योगीको आन्तरिक ‘टसल’ले ल्याएको नयाँ मापदन्ड

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको नयाँ गुणस्तर मापदन्ड कायम गरेको छ । नयाँ मापदन्डमा सिमेन्टमा ५ प्रतिशतभन्दा बढी म्याग्नेसीयम (एमजीओ) फेलापरे त्यस्ता उत्पादन ३३ ग्रेडको हुने व्यवस्था गरिएको छ ।

 

यसअघि नेपालमा उत्पादन भएका सिमेन्टको कुनै ग्रेडिङ छुट्याउने गरिएको थिएन । सबै सिमेन्ट ३३ ग्रेडलाई आधार मानेर गुणस्तर चिन्ह प्रदान गरिदै आएकोमा नयाँ मापदन्ड अनुसार ३३, ४३ र ५३ ग्रेडमा सिमेन्टलाई वर्गिकरण गरिएको हो ।

 

‘उद्योगीहरु एउटै आवाज लिएर आउन सकेनन्, हामीले यसअघि पनि उद्योगले ५ प्रतिशतमा नै रहेर उत्पादन गरिरहेको देखेकै हौ । त्यसैले नयाँ मापदन्डमा ५ प्रतिशतकै ब्यवस्था गरेका हौं’ महानिर्देशक पुडासैनीले भने ।

 

नयाँ मापदन्डले ३३ ग्रेडको सिमेन्टमा एमजीओको मात्रा ६ प्रतिशतसम्म रहनसक्ने ब्यवस्था गरेको छ भने ४३ र ५३ ग्रेडको सिमेन्टमा ५ प्रतिशत एमजीओको मात्रा हुनुपर्ने व्यवस्था गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

 

‘नयाँ मापदन्ड साउनबाट लागु हुनेछ । क्रमिक रुपमा नयाँ मापदण्डले निर्धारण गरे अनुसार उद्योगहरुले आफ्नो उत्पादन बजारमा लगाउनु पर्नेछ’ पुडासैनीले चाणक्यपोष्टसँग भने ।

 

नयाँ मापदन्डले ६ प्रतिशतसम्म एमजीओ भएका उद्योग समस्यामा नपरुन भनेर ३३ ग्रेडको सिमेन्टमा उक्त सिमासम्म जान सकिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

 

नयाँ मापदन्ड निर्माण गर्ने क्रममा पूर्वी नेपालमा रहेका उद्योगी र पश्चिम नेपालमा रहेका उद्योगीहरुको आन्तरिक स्वार्थका कारण मएमजीओको विषयले धेरै चर्चा पाएको जानकार व्यवसायीहरु बताउँछन् ।

 

नारायणी नदीपारी रहेका सिमेन्ट उद्योगको चुनढुङ्गामा नै म्याग्नेसियमको मात्रा बढी छ भने हेटौंडा पूर्वका उद्योगहरुले प्रयोग गर्ने चुनढुङ्गामा म्याग्नेसियमको मात्रा न्यून रहेको छ । यी व्यवसयीको ‘टसल’ मापदन्ड निर्माण गर्ने बेलामा पनि देखिएको हो ।

 

‘उद्योगीहरु एउटै आवाज लिएर आउन सकेनन्, हामीले यसअघि पनि उद्योगले ५ प्रतिशतमा नै रहेर उत्पादन गरिरहेको देखेकै हौ । त्यसैले नयाँ मापदन्डमा ५ प्रतिशतकै ब्यवस्था गरेका हौं’ महानिर्देशक पुडासैनीले भने ।

 

संसारले ६ प्रतिशतलाई मान्यता दिएर अगाडि बढेको म्याग्नेसियमको मात्रा नेपालमा पनि ६ प्रतिशतसम्म हुन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

 

अन्तर्राष्ट्रिय मापदण्ड 
विश्वमा चीनले ५० प्रतिशतभन्दा बढी सिमेन्ट उत्पादन गर्ने गर्छ । यस्तै भारतले विश्वको २५ प्रतिशत र बाँकी २५ प्रतिशत यूरोप, अमेरिकालगायत देशले उत्पादन गर्ने गरेका छन् ।

 

म्याग्नेसियम (एमजीओ)को सन्दर्भमा चिनियाँ मापदण्ड ‘जीबी’ १७५ (२००७), भारतीय मापदण्ड ‘आईएस’ २६९ (२०१५) र अमेरिकाको मापदण्ड ‘एएसटिएम सि’ १५० मा यसको मापदण्ड ६ प्रतिशतसम्म भएमा त्यो गुणस्तरीय मानिने तोकिएको छ ।

 

सार्क मुलुकमध्ये पाकिस्तान र भारतमा ६ प्रतिशत तोकिएको छ भने त्यस बाहेक श्रीलंका, बंगलादेश तथा यूरोपेली राष्ट्रमा एमजीओको कुनै सीमा तोकिएको छैन ।

 

चीनमा कुनैपनि सिमेन्ट एक्सपेन्सन टेस्टमा पास भए ६ प्रतिशत एमजीओ हुन सक्ने व्यस्था रहेको छ । यूरोप र इण्डोनेसिया लगायतका मुलुकमा यसको मापदण्ड अटोक्लभ तथा ले च्याटेलियर एक्सपेन्सन टेस्ट भन्ने प्रविधिबाट गरिने व्यवस्था रहेको छ ।

 

एक्सपेन्सन टेस्टको व्यवस्था नेपालमासमेत रहेको छ । यसबाट एमजीओको कारण हुने एक्सपेन्सनको परिक्षण सोझै हुने भएकोले एमजीओको मापदण्ड राख्नु–नराख्नुको कुनै मतलव नहुने विज्ञहरुको भनाई रहेको छ ।

 

लाइमस्टोनमै हुन्छ एमजीओ
नेपालको पाल्पा, गुल्मी, स्याङजा, अर्घाखाँची र दाङलगायतका जिल्लाहरुमा रहेका लाइमस्टोनमा प्राकृतिक रुपमा नै ४ प्रतिशत म्याग्नेसियम पाइने गरेको छ । त्यस क्षेत्रको मात्रै लाइमस्टोनले क्लिङकर बनाउँदा करिब ६ प्रतिशत पुग्ने गरेकाे छ । जुन अहिलेको गुणस्तर मापदण्ड अनुसार ३३ ग्रेडको लागि मात्रै योग्य हुन्छ ।

 

१ टन क्लिङकर निर्माण गर्न १.५ टन लाइमस्टोन आवस्यक पर्छ । यसरी हेर्दा एक टन क्लिङकरमा म्याग्नेसियमको मात्रा ६ प्रतिशतको हाराहारीमा पुग्छ । म्याग्नेसियमलाई जलाएर वा पगालेर हटाउन सकिदैन । यो प्राकृतिक रुपमै आउने गर्छ । यसलाई घटाउने उपाए नै कम म्याग्नेसियम भएको क्लिङकर किनेर मिसाउने हो । जुन नेपालको पूर्विभागमा पाइन्छ ।

 

यसले उद्योगको लागत खर्च निकै बढाउँछ । अहिलेको प्रतिस्पर्धी बजारमा त्यस्तो उद्योगले प्रतिस्पर्धानै गर्न सक्दैन भन्ने पश्चिम क्षेत्रका उद्योगी ब्यवसायीहरुको भनाई रहेको छ ।

कृषिः विदेशमा ११ वर्ष अर्काको काम, नेपाल फर्किएपछि ४८ जनालाई रोजगारी Read Previous

कृषिः विदेशमा ११ वर्ष अर्काको काम, नेपाल फर्किएपछि ४८ जनालाई रोजगारी

यी हुन् विदेशबाट आउने यात्रुले निःशुल्क भन्सारमा ल्याउन पाउने सामान (सूचीसहित) Read Next

यी हुन् विदेशबाट आउने यात्रुले निःशुल्क भन्सारमा ल्याउन पाउने सामान (सूचीसहित)