यी हुन् विदेशबाट आउने यात्रुले निःशुल्क भन्सारमा ल्याउन पाउने सामान (सूचीसहित)

काठमाडौं । सरकारले विदेशबाट आउने र जाने यात्रुले बोक्न पाउने सामानको सूची परिमार्जन गरेको छ । सरकारले २०७४ जेठमा ल्याएको सूची हेरफेर गरि नयाँ सूची सार्वजनिक गरेको हो । बजेट भाषणसँगै केही प्रावधान भने १५ जेठबाटै कार्यान्वयनमा आइसकेको छ ।

 

यी हुन् विदेशबाट नेपाल आउँदा पूर्ण भन्सार छूटमा ल्याउन पाइने सामान

लुगाफाटो, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान, ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरत जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया, ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेनड्राइभ एक/एक थान, बच्चा राख्ने स्टाेलर वा ट्राइसाइकल एक थान,  पेशागत यात्रुले प्रयोग गरी ल्याएको एक/एक थान उपकरण र वस्तु, सात किलोसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्म मात्र ।

 

भारतीय सेना प्रहरीबाट सेवा निवृत्त भई निवृत्तिभरण पाउने गरी स्वदेश फर्कँदा निवृत्त भएको कागजात पेश गर्दा एक पटकका लागि ५० हजारसम्मका निजी प्रयोगका सामानमा पूर्ण भन्सार छुट दिइएको छ । विदेशमा नेपालीको मृत्यु भएको प्रमाणित भए निज र निजको परिवारका पुराना सबै किसिमका सामान (सवारी साधनबाहेक) स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट हुने व्यवस्था सरकारले गरेको छ ।

 

भन्सार तिरेर ल्याउन पाइने सामान

बजेटमार्फत सरकारले विदेशबाट फर्केका यात्रुले १ सय ग्रामसम्म सुन भन्सार महसुल तिरेर ल्याउन पाउने व्यवस्था गरेको छ । विदेशबाट फर्कने नेपाली यात्रुले २ सय खिल्लीसम्म चुरोट भन्सार दरबन्दी बमोजिम लाग्ने महसुल तिरेर ल्याउन पाउने सुविधा दिइएको छ । त्योभन्दा बढी परिमाणको चुरोट ल्याएमा दोब्बर भन्सार लाग्ने व्यवस्था गरिएको छ ।

 

भन्सार तिरेरै सुन ल्याउदा १ सय ग्राम सम्मको पहिलो ५० ग्राममा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढीमा प्रति १० ग्राम ७ हजार २ सय रुपैयाँ तिरेर भित्राउन पाउने व्यवस्था गरीएकाे छ ।

 

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएका सामान अन्य व्यक्तिका नाममा जिम्मा लगाएर वा नामसारी गरी छुटाउन भने नपाउने व्यवस्था गरिएको छ । सरकारले तोकेको परिणामभन्दा बढी सामान लुकाई छिपाई ल्याउन खोजेमा त्यस्तो सामान जफत हुने र कारवाही प्रक्रियामा जाने जानकारी अर्थ मन्त्रालयले गराएको छ ।

 

विदेश जाँदा केके लैजान पाइन्छ ?

नेपाली विदेश जाँदा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा भन्सार महसुल छुट दिइएको छ । वायुसेवा कम्पनीले यात्रुलाई लैजान छुट दिएको तौलसम्मको नेपाली बजारमा खरीद गरिएका सामान लैजान चाहे कानून बमोजिम थप शुल्क र महसुल तिरेर लैजान पाउने व्यवस्था गरिएको छ ।

 

विदेशी यात्रुले ल्याउन र लैजान पाउने सामान

एक लिटरसम्मको मदिरा वा १२ क्यानसम्म वियर, चुरोट २ सय खिल्ली, सिगार ५० खिल्ली, टोबाको २५० ग्राम, १० हजार रुपैयाँ मूल्यसम्मका औषधि (निषेधितबाहेक), ५ हजार रुपैयाँ मूल्यसम्मका खानेकुरा, २ हजार रुपैयाँसम्मका फलफूल, नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका मालवस्तु ।

पूर्व र पश्चिमका सिमेन्ट उद्योगीको आन्तरिक ‘टसल’ले ल्याएको नयाँ मापदन्ड Read Previous

पूर्व र पश्चिमका सिमेन्ट उद्योगीको आन्तरिक ‘टसल’ले ल्याएको नयाँ मापदन्ड

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न Read Next

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न