काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विद्युतीय प्रणाली (अनलाइन)बाट सामानको बिक्री शुरु गरेको छ । लकडाउनको समयमा नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने लक्ष्यका साथ विद्युतीय कारोवार शुरु गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निर्देशनअनुसार नै कम्पनीले दैनिक उपभोग्य वस्तुको विद्युतीय माध्यमबाट जानकारी लिने र सोही अनुसार बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको हो । कोरोनाको सङ्क्रमणका त्रासका कारण उपभोक्ताले सहज रुपमा दैनिक उपभोग्य वस्तु पाऊन् भन्ने ध्येयका साथ यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको कम्पनीले जनाएको छ ।
सोही कम्पनीले लकडाउनको समयमा चीनबाट ल्याइएको विद्युतीय चुल्होसमेत बिक्री गरेको थियो । कुल ७ हजार ३०० थान विद्युतीय चुल्होमध्ये अधिकांश बिक्री भइसकेका छन् ।
लकडाउनको समयमा खाना पकाउने एलपी ग्यासको अभाव देखिने अवस्था आएपछि कम्पनीका चुल्हो खरिद गर्न चाहने उपभोक्ता उस्तै रहेका छन् । दैनिक ३०० भन्दा बढी चुल्हो बिक्री भएका छन् ।
यही अवस्थालाई ध्यानमा दिएर कम्पनीले अझै चुल्हो खरीद गरेर ल्याउने र बिक्री गर्ने योजना बनाएको छ । सरकारले विद्युतीय उपकरण प्रयोग गर्न र आत्मनिर्भरताको बाटोमा अगाडि बढ्नसमेत यसअघि नै आग्रह गरेको छ । कम्पनीका अनुसार तत्काल १० हजार थान विद्युतीय चुल्हो जरुरी छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालका अनुसार सरकारी स्वामित्वको कम्पनीले बुधबारदेखि काठमाडौँ उपत्यकामा अनलाइनबाट दैनिक उपभोग्य वस्तुको माग लिने र घरघरमा नै पुर्याउने प्रणाली विकास गरेको छ ।
काठमाडौं उपत्यकाको विशेषगरी चक्रपथ क्षेत्रमा त्यस्तो सुविधा प्रदान गरिनेछ । सचिव अर्यालका अनुसार चक्रपथभित्र बसोबास गर्ने उपभोक्ताले दैनिक उपभोग्य वस्तुको माग गर्न सक्नेछन् । सो योजनालाई विस्तारै काठमाडौं उपत्यकाबाहिरसमेत विस्तार गरिने मन्त्रालयले जनाएको छ ।
कम्पनीले सामान माग गरेको बढीमा २ दिनभित्र उपलब्ध गराउने जनाएको छ । तत्काललाई २ हजार बराबरको दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ । लकडाउन अवधिभर त्यसरी माग गरिएको सामग्रीमा थप शुल्क नलिने समेत कम्पनीले जनाएको छ । त्यसका लागि उपभोक्ताको सम्पर्क नम्बरमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ । कम्पनीले सानो मन्सुली, जीरा मसिनो, जापानी चामल, कर्णाली सिमी फापरलगायतका खाद्य वस्तु उपलब्ध गराउनेछ ।
कसरी गर्ने अर्डर ?
कम्पनीको बेवसाइट nepalfood.com.gov.np मा गएर उपभोक्ताले आफूलाई आवश्यक वस्तु माग गर्न सक्नेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुरु गरेको ‘होम डेलभरी’ सेवाबाट उपभोक्ताले लाभ लिन सक्नेछन् ।
त्यसका लागि नगद वा ई–पेमेन्ट गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले उपभोक्तालाई ई–पेमेन्ट विधि अपनाउन आग्रह गरेको छ । थप जानकारीका लागि कम्पनीको अञ्चल कार्यालय, काठमाडौँमा सम्पर्क गर्न सकिनेछ । यस्तै ०१४२४६३८९ वा ९८४८४४४९४४ टेलिफोनसमेत गर्न सकिनेछ ।