देश जोगाउने हो भने जनता र व्यवसायी जोगाऔं : रमेशकुमार भट्टराईको विचार

कोरोना महामारिमा लकडाउनको कारण उद्योग व्यवसाय तहसनहस नहोस् भनेर अन्य देशका सरकारले राज्यकोषबाट नागरिक र उद्योगी व्यवसायीलाई नगद राहत र छुट दिइरहेका छन् ।

 

म पनि १५ वर्ष बैंक तथा वित्त कम्पनीको प्रमुख कार्यकारी भएकोले नव नियुक्त गभर्नर ज्यूका केही पछिल्ला भनाइसँग असहमत हुँदै उद्योग व्यवसाय क्षेत्रको हितको लागि निम्न सुझाव दिन चाहन्छु ।

 

१. उद्योगी व्यवसायीलाई चैतको बैंक ऋणको साँवा ब्याजको किस्ता आसार मसान्तमा तिर्ने व्यवस्था राहत नभइ बरु डुबाउने खेल हो । लकडाउनको चेन असर असार पछिसम्म जान्छ । कारोबार नियमित र राम्रो हुँदैन । नगद प्रवाह नभएको अवस्थामा ३ महिनाको तिर्न नसक्नेले ६ महिनाको कसरी सक्छ ?

 

२. उद्योग व्यवसाय चलेमा बैंकको कारोबार पनि चल्ने र सरकारले पनि कर पाउने तथा रोजगारी वृद्धि लगायत समग्र अर्थतन्त्र चलायमान हुन्छ । त्यसैले उद्योग व्यवसायको संरक्षण र विकास नै प्रमुख कुरा रहेको सबैले बुझ्नु जरुरी छ ।

 

३. बैंकहरु नाफा कमाउने संस्था हुन् । सधैं कमाएका पनि छन् । तर, अहिले बाँच्ने र बचाउने बेला हो । बाँच्यो भने फेरि कमाउन पाइन्छ । त्यसैले बैंकका ऋणिहरु (औषधि किराना जस्ता बाहेक) लाई ३ महिनाको ब्याज असारको वासलात ऋणात्मक नहुने गरी पूर्णतः मिनाहा गर्नुपर्छ । ऋणात्मक हुनेको हकमा वासलात धनात्मक बनाउने जति रकम सरकारले बैंकलाई राज्यकोषबाट दिनु पर्छ ।

 

४. महामारिमा १ वर्ष लाभांस नपाउँदा कुनै सेयर धनीले विरोध गर्दैनन । मेरो पनि बैंक र बीमा कम्पनीमा सेयर छ । मलाई कुनै आपत्ति छैन । उद्योग व्यवसाय चलेमा तथा बैंक र हामी रहेमा न नाफा खाने कुरा आउँछ ।

 

५. सरकारले पनि नाफाखोरी सोच हटाई बैंकहरुलाई ३० प्रतिशतको सट्टा २० प्रतिशत र उद्योग व्यवसायआई २५ प्रतिशतको सट्टा १५ प्रतिशत मात्र कर लिने घोषणा गरी महासंकटको बेला उदार मन देखाई राहत दिनुपर्छ ।

 

६. उद्योग व्यवसायले खपत गर्ने विद्युत्मा नेपाल विद्युत् प्राधिकरणको वासलात ऋणात्मक नहुने गरी छुट दिनुपर्छ । कर्मचारीको रोजगारी बचाउन पारिश्रमिक करमा छुट दिएर त्यति रकम तलबमा घटाउन पाउने गरी उद्योगलाई खर्च कम गर्न सहयोग गर्नु पर्छ ।

 

७. नागरिक रहेमा उद्योग व्यवसाय चल्ने हो । उद्योग व्यवसाय रहेमा बैंक चल्ने हो र बैंक चलेमा अर्थतन्त्र राम्रो भई देश चल्ने हो । यो कुरा बुझि उदारता देखाउँ । आफू नि बाँचौ ,अरु सबैलाई पनि बचाऔं ।

 

(भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी हुन् । यो विचार उनको फेसबुक पेजबाट साभार गरिएको हो)

७६ दिनपछि हटाइयो वुहानको लकडाउन, रेल र हवाई सेवा पनि सञ्चालनमा Read Previous

७६ दिनपछि हटाइयो वुहानको लकडाउन, रेल र हवाई सेवा पनि सञ्चालनमा

३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक Read Next

३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक