७६ दिनपछि हटाइयो वुहानको लकडाउन, रेल र हवाई सेवा पनि सञ्चालनमा

११ सातापछि कोरोना भाइरसको उद्गम स्थल चीनको हुवेई प्रान्तको वुहान सहर खुलेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ७६ दिनपछि मंगलबार मध्यरातिदेखि वुहानको लकडाउन हटाइएको हो ।

 

मंगलवार चीनमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो।

 

 

पछिल्लो समय चीनमा कोरोनाको महामारी नियन्त्रणमा आएसँगै चीनले क्रमशः लकडाउन हटाउँदै लगेको थियो । चीनले जनवरी २३ देखि वुहानलाई लकडाउन गरेको थियो ।

 

लकडाउन खुलेसँगै यहाँका मानिसहरुले कुनै विशेष अनुमति बिना नै बाहिर घुम्न पाउनेछन् । यो सहरमा १ करोड १० लाख मानिसको बसोबास छ ।

 

लामो समयको लकडाउन हटेसँगै कर्मचारीहरुले सडकमा राखिएका अवरोध हटाएका छन् । हाईस्पीड ट्रेनले पनि सेवा सुरु गरेको छ । वुहानबाट बुधबार मात्रै करिब २०० भन्दा बढी आन्तरिक उडान हुने बताइएको छ ।

 

चीनमा भाइरसका ८२ हजारभन्दा धेरै संक्रमित भेटिइसकेका छन् । साथै भाइरसबाट अहिलेसम्म चीनमा ३ हजार ३३१ जनाको मृत्यु भइसकेको छ । तर, पछिल्लो समय चीनमा निरन्तर नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ ।

 

७६ दिनसम्मको लकडाउन अवधिभर वुहानका बासिन्दालाई खाद्यान्न खरिद वा अन्य अत्यावश्यक कामको लागि मात्र बाहिर जाने अनुमति थियो ।

 

वुहान चीनका ठूला उद्योगको केन्द्रको रुपमा रहेको छ । विशेषगरी अटो उद्योगको लागि यो सहर चर्चित छ । धेरै ठूला उद्योगले आफ्नो उत्पादन पुनः शुरु गरिसकेका छन् ।

 

साना र मझौला आकारका व्यवसाय भने अझै पनि आफ्नो उत्पादन शुरु गर्न संघर्ष गरिरहेका छन् । यस्ता उद्योगलाई सहयोग गर्न सरकारले २ अर्ब ८० करोड डलरको सहुलियत ऋणको व्यवस्था गर्ने निर्णय गरेको छ ।

-एजेन्सी

देशभर २ हजार एम्बुलेन्स तयारी अवस्थामा राखिँदै Read Previous

देशभर २ हजार एम्बुलेन्स तयारी अवस्थामा राखिँदै

देश जोगाउने हो भने जनता र व्यवसायी जोगाऔं : रमेशकुमार भट्टराईको विचार Read Next

देश जोगाउने हो भने जनता र व्यवसायी जोगाऔं : रमेशकुमार भट्टराईको विचार