काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले चौरीको दूधबाट ५० मेट्रिकटन याक चीज उत्पादन भएको छ । यसका लागि डीडीसीले चौरीपालक कृषकसँग सम्झौता समेत गरिसकेको छ ।
डीडीसीका अनुसार भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई लक्षित गरी चीज बनाउन सुरु गरिएको हो । यद्यपि कोरोना भाइरसका कारण सरकारले भ्रमण वर्ष स्थगित गरिसकेको छ ।
डीडीसीले जनाए अनुसार करिब ६ करोड रुपैयाँ लगानीमा चीज उत्पादन हुनेछ । चीज बनाउन आवश्यक दूधका लागि डीडीसीले लाङटाङ, चोमजङ लगायतका हिमाली क्षेत्रका किसानसँग सम्झौता गरिसकेको छ । जसअनुसार कृषकलाई १ करोड २३ लाख रुपैयाँ भुक्तानी गरिसकिएको डीडीसीका सूचना अधिकारी संजीव झाले बताए ।
उनका अनुसार गाईभैंसीको दूधबाट बनेको भन्दा चौरीको दूधबाट बनेको चीज पर्यटकको रोजाइमा पर्ने गरेको छ । ‘हामीले यस वर्ष ५० मेट्रिक टन चौरीको दूधको चीज उत्पादन गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘हालसम्म २८ हजार केजी उत्पादन समेत भइसकेको छ ।’
उनले हाल भ्रमण वर्ष स्थागित हुनु, कोरोना भाइरसका कारण देशभर लकडाउन र नाका बन्द हुनुले दुग्ध क्षेत्रमा ठूलो प्रभाव परेको छ । निर्यात गर्न सक्ने वस्तु समेत निर्यात गर्न नसक्दा घाटामा जान सक्ने अवस्था सृजना भएको उनले गुनासो पोखे ।
भ्रमण वर्ष स्थगित हुँदा भन्दा पनि हालको लकडाउने उत्पादन भइसकेको चीज निर्यातमा समस्या भएको झाले बताए । उनका अनुसार हालसम्म २८ हजार केजी चौरीको दूधको चीज बनिसकेको छ । उत्पादित चीज विक्री गर्न नपाउँदा त्यसै स्टोरमा थन्काएर राखिएको उनले बताए । ‘चौरीको दूधको चीज बनिरहेको छ, त्यसलाई रोक्न पनि मिल्दैन, रोक्यो भने किसान यस पेसाबाट अन्तै पलायन हुने छन्,’ झाले चाणक्य पोष्टसँग भने ।
चौरीको दूधको चीज हङकङ, यूएई लगायत देशमा निर्यात गर्न सकिने भएता पनि हाल लकडाउनका कारण हाल त्यो सम्भव नभएको उनले बताए ।
उनका अनुसार चीज विक्री भए/नभए पनि किसानलाई समयमै भुक्तानी गर्नु पर्ने हुन्छ । डीडीसीले विगतमा पनि चौरीको दूधको चीज उत्पादन हुने गर्दै आएको भए पनि यसपटक भने उत्पादनलाई वृद्धि गरिएको छ । झाका अनुसार विगतका तुलनामा यो पटक ३५ देखि ४० प्रतिशतसम्म चौरीको चीज उत्पादन वृद्धि गरिएको हो ।
हाल यसले बजार नपाउँदा यो स्टोरमा सड्ने सम्भावना रहेको उनले बताए । ‘लकडाउनका कारण बनेको चीज समेत विक्री गर्न पाइएको छैन । यसको घाटा कसरी बेहोर्ने हामी चिन्तित छौं,’ उनले भने ।