कोरोना संक्रमितसँगै यात्रा गर्ने अधिकांशको खोजी जारी, कुन जहाजमा यात्रा गर्ने कति भेट्टिए (विवरणसहित)

काठमाडौं । चैत ४ गते फ्रान्सबाट नेपाल आएकी यूवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएसँगै उक्त जहाजमा आएका अन्य यात्रुको खोजी अहिलेपनि तीव्ररूपमा भइरहेको छ । नेपाल प्रहरीले ती विमान चढेर आउने सबै यात्रुको जानकारी लिएर उनीहरुलाई खोज्दै क्वारेन्टाइनमा राख्ने काम गरिरहेको हो ।

 

नेपालमा कोरोना संक्रमण पुष्टी भएका अधिकांश मानिसहरु विदेशबाट आएको र अहिलेसम्म एकजनामा मात्र सरेको पाइएको छ । उनीहरु चढेर यात्रा गरेका हरेक जहाजमा चढेका यात्रुको जानकारी खोज्दै उनीहरुलाई खोज्ने काम भइरहेको नेपाल प्रहरीका सूचना अधिकारी तथा एसएसपी उमेशराज जोशीले बताए ।

 

हाल प्रहरीले कतार एयरवेज, एयर अरबीया, भिस्तारा विमानको प्रयोगगरि विदेशबाट आएका र बुद्ध र यतीका आन्तरिक जहाज चढेर गएका संक्रमितसँगै यात्रा गरेका मानिसहरुको तीव्र खोजी गरिरहेको उनले जानकारी दिए ।

 

विभिन्न जाहाजहरुबाट आएका मध्ये हालसम्म ८ सय ७ जनालाई खोजेर प्रहरीले क्वारेनटाइनमा राखेको छ ।

 

उनका अनुसार कतार एयरवेजमा संक्रमित व्यक्तिसँगै यात्रा गर्ने कुल १ सय ५८ जना मध्ये हालसम्म १ सय ५२ जनालाई खोजेर क्वारेन्टाइनमा राखिएको छ । एयर अरेबियाबाट आएका १ सय ७० जना मध्ये १ सय ६५ जनालाई क्वारेन्टाइनमा राखिसकिएको प्रवक्ता जोशीले जानकारी दिए ।

 

त्यस्तै भिस्तारा विमानबाट आएका १ सय ३० जना मध्ये ८१ जना मानिसहरुको खोजी गरिसकेको जोशीले बताए ।

 

आन्तरिकतर्फ बुद्ध एयरलाइन्स चढेर आएका ७१ जना मध्ये ५२ जना भेटिएका छन् भने यती एयरलाइन्स चढेर आएका ५६ जना मध्ये ४० जना मानिसहरु भेटिएका छन् ।

 

‘संक्रमित चढेर आएका जहाजहरुमा चढ्ने अन्यलाई पनि कोरोना संक्रमण हुन सक्ने आशंका सहित हामीले त्यस जहाजबाट आउने सबैलाई खोजेर क्वारेन्टाइनमा राखिरहेका छौँ,’ जोशीले चाणक्यपोष्टसँग भने ।

 

उनले तीव्र गतिमा मानिसहरुको छानबीन गरिरहेको छ र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको बताए ।

 

हालसम्म ९ जनामा कोरोना संक्रमणम भेटिएको छ । सरकारले कोरोना भाइरस फैलन नदिन सक्दो प्रयास गरिरहेको छ । प्रहरी आफै माक्स, पन्जा लगायतका सामग्री प्रयोग गर्दै लकडाउन सफल पार्नेदेखि कोरोना संक्रमणमा रहेको मानिसहरुको छानबीन गरिरहेको छ ।

 

हाल देशभर प्रहरीका ४७ हजार जवान खटिएका छन् । उपत्यकामा मात्र ९ हजारका हाराहारीमा प्रहरीहरु खटिएको जोशीले जानकारी दिए ।

 

कोरोना संक्रमण देखिएका मध्य अधिकांश विदेशबाट फर्किएको पाइएकाले विदेशबाट आएकाहरुलाई सक्दो चाँडो प्रहरीको संक्रमणमा आउन वा आफ्नो जाँच गराउन अनुरोध गरेको छ ।

 

एउटै विमानबाट सयाैं मानिसहरु आएका र उनीहरुको बसाई फरक हुँदा उनीहरुको खोजी कठिनाई भएको उनले बताए ।

 

‘हामी यात्रुहरुको पासपोर्टमा भएको नाम र ठेगानाबाट उनीहरुको खोजी गरि रहेका छौँ, सबै विभिन्न जिल्लाबाट भए पनि धेरै मानिसहरु उपत्यका भित्र रहेको पाइएको छ,’ जोशीले भने ।

 

उनले वैदेशिक रोजगार होस् या वैदेशिक शिक्षा फर्किएकाहरुलाई सक्दो आफै क्वारेनटाइनमा बस्न अनुरोध गरेको जानकारी दिए ।

चौरीको दूधबाट ५० मेट्रिकटन चीज बनाउँदै डीडीसी Read Previous

चौरीको दूधबाट ५० मेट्रिकटन चीज बनाउँदै डीडीसी

लकडाउनमा पनि माथिल्लो तामाकोशीको निर्माण जारी राख्ने प्रयास Read Next

लकडाउनमा पनि माथिल्लो तामाकोशीको निर्माण जारी राख्ने प्रयास