काठमाडौं । कामना सेवा विकास बैंकले बिहीबार विद्युतीय (डिजिटल) प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्समार्फत सञ्चालक समितिको २८९ औं बैठक सम्पन्न गरेको छ । बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो ।
नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।
बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्समार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । यो बैंकलाई डिजिटाइजेसन र अटोमेसनको पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गोको रुपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेतले बताए ।
२०७६ साल कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन समुद्घाटन समारोहमा समेत माननीय अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा एकै दिन ५० वटा शाखा डिजिटल अनावरण गरिएको थियो ।
बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले ग्राहकलाई थप सेवा सुविधा दिने बारे तथा देश लकडाउनमा परेका कारण पीडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउँपलिका तथा नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ ।
यसै गरी मानिसहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित जनावरहरुमा समेत खाने तथा पिउने पानीको समस्या परेको कुरा विभिन्न संचार माध्यमहरुद्वारा जानकारीमा आएको हुंदा सो सम्बन्धमा समेत सक्दो सहयोग गर्न बैंक व््यवस्थापनलाई निर्देशन गरेको बैंकका अध्यक्ष आचार्यले जानकारी दिए ।
बैंकले हाल देशभरका १२३ वटा शाखा कार्यालय, ६५ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।