सबल बन्दै विद्युत् प्राधिकरण, नाफा १० अर्ब ६७ करोड

"विद्युत् बिक्रीबाट ६६ अर्ब ६१ करोड आम्दानी"

काठमाडौं । नेतृत्वको सचेत पहल हुने र इमान्दार भएर काम गर्ने हो भने समस्याको भूमरीमा फसेको सरकारी स्वामित्वको संस्थान पनि एक पछि अर्को गर्दै उच्च मुनाफा कमाउने संस्थाको रुपमा स्थापित हुन सक्छ । यस्तै भएको छ, नेपाल विद्युत् प्राधिकरणको हकमा ।

 

प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएर आएदेखि नै संस्थाको सुधार र सुशासनमा जोड दिँदै आएका कुलकमान घिसिङको सबल नेतृत्व र उनलाई सदैव काम गर्न मार्ग निर्देशन गरिरहने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको राजनीतिक नेतृत्व एवम् आड भरोसाका कारण प्राधिकरणले ठूलो मुनाफा गरेको हो ।

 

एक अध्ययन अनुसार प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा मात्रै १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड (एनएफआरएस) को विस्तृत आम्दानी ८५ करोड ५४ लाखसहित प्राधिकरणले १० अर्ब ६६ करोड ७९ लाख नाफा कमाएको हो ।

 

प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५/७६ मा ७ अर्ब २० करोड खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको थियो । सोही कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष पुनले सरकारी संस्थानहरुमध्ये प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने दृढता प्रस्तुत गरेका थिए।

 

महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले आव २०७५/७६ मा ९ अर्ब ८१ करोड २५ लाख खुद नाफा कमाएको देखिएको छ । योसँगै सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्थाका रुमपा स्थापित भएको छ ।

 

प्राधिकरणको जगेडा तथा संचित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ । आव २०७४/७५ मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा तथा संचितकोष २३ अर्ब ५९ करोड ७९ लाख ऋणात्मक थियो ।

 

आव २०७२/७३मा ८ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा संचित कोष  ३४ अर्ब ६० करोड ८५ नोक्सानीमा रहेको प्राधिकरणमा घिसिङ कार्यकारी निर्देशक भएपछिका आवहरुमा फड्को मार्दै खुद नाफा उकालो लागिरहेको छ । ऋणात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । प्राधिकरणले आव २०७३/७५ र २०७४/७५ मा खुद नाफा क्रमशः १ अर्ब ४६ करोड ७३ लाख र २ अर्ब ८४ करोड ८१ लाख आर्जन गरेको थियो ।

 

विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, विद्युत्भार कटौतीको अन्त्यपछि ऊर्जा खपतमा भएको बृद्धि, प्राधिकरणका जलविद्युत् आयोजनाको उत्पादनमा बृद्धि, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट संस्था तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

 

आव २०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट आव २०७५/७६मा आईपुग्दा १५.३२ प्रतिशतमा झरेको छ । घिसिङले निर्देशक हुँदा विद्युत्भार कटौतीको अन्त्य गर्ने, प्राधिकरणलाई नाफामा लैजाने र मुलुकलाई विद्युत्मा आत्मनिर्भर बनाउने मुख्य तीनवटा प्रतिबद्धता जनाएका थिए ।

 

प्राधिकरणले आव २०७५/७६ मा ३८ अर्ब ८९ करोड ६३ लाख बराबरको विद्युत् खरिद गरेको छ भने विद्युत् बिक्रीबाट ६६ अर्ब ६१ करोड २९ लाख आम्दानी गरेको छ ।

 

आव २०७२/७३ मा विद्युत् चुहावट २५.७८ प्रतिशत रहेकोमा अहिले घटाएर १५.३२ प्रतिशतमा झारिएको छ । एक प्रतिशत विद्युत् चुहावट घटाउँदा करिब ७० करोड प्राधिकरणलाई फाइदा हुन्छ ।

 

आव २०७४/७५मा यस्तो आम्दानी ५५ अर्ब ३५ करोड ८२ लाख थियो । विद्युत् खरिदमा ३४ अर्ब १३ करोड खर्च भएको थियो । प्राधिकरणले विद्युत् आयोजनाको १ अर्ब ५० करोड १७ लाख रोयल्टी सरकारलाई बुझाएको छ ।

कामना सेवाको डिजिटल बैठक Read Previous

कामना सेवाको डिजिटल बैठक

अष्ट्रेलियाली प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भने,‘यहाँ बस्न गाह्रो भएको भए आफ्नै देश फर्क’ Read Next

अष्ट्रेलियाली प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भने,‘यहाँ बस्न गाह्रो भएको भए आफ्नै देश फर्क’