काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले सन् २०२० मा एसियाली क्षेत्रको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।
बैंकले शुक्रबार प्रकाशित गरेको ‘एशियन डेभलपमेन्ट आउट लुक २०२०’ अनुसार यो क्षेत्रमा आर्थिक वृद्धिदरमा सुस्तता आउने प्रक्षेपण गरेको हो। यसअघि बैंकले सन् २०१९ को सेप्टेम्बरमा यो क्षेत्रको वृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो।

कोरोना भाइरस महामारीका कारण यो क्षेत्रको वृद्धिदर यो वर्ष खुम्चिने प्रक्षेपण गरेको बैंकले आगामी वर्ष भने ६.२ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान गरेको छ। महामारी नियन्त्रमा आएर सामान्य आर्थिक गतिविधि भएको खण्डमा सन् २०२१ देखि गति लिने बैंकको भनाइ छ।
महामारीका कारण पहिलो त्रैमासमा चीनको अर्थतन्त्रमा उद्योग,सेवा,रिटेल तथा लगानी जस्ता क्षेत्रमा नकारात्मक असर परेको छ। यसैका कारण वृद्धिदर २.३ प्रतिशतमा सीमित भएको छ महामारीको असर सामान्य भएको अवस्थामा सन् २०२१ मा चीनको वृद्धिदर ७.३ प्रतिशत हुने बैंकको अनुमान छ। त्यस्तै, यो वर्ष भारतको वृद्धिदर ४ प्रतिशतमा सीमित हुने बैंकको अनुमान छ।

विश्वव्यापी कमजोर माग र आफ्नै देशभित्रको महामारी प्रभावका कारण एशियाभित्रका सबै क्षेत्रमा वृद्धिदर कमजोर हुने छ। एशियाभित्रका विशेषगरी पर्यटनमा आधारित अर्थतन्त्र धेरै प्रभावित हुने एडीबीको प्रक्षेपण छ।
एडीबीले महामारीको आर्थिक नोक्सानी २ देखि ४ ट्रिलियन डलरसम्म हुने प्रक्षेपण गरेको छ।
