औषधि आयात २ प्रतिशतले घट्यो, ८ महिनामा साढे २० अर्बको आयात

काठमाडौं । चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा कम औषधि आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ८ महिना (साउन-माघ) महिनामा २० अर्ब ५२ करोड ११ लाख रुपैयाँ बराबरको औषधिजन्य वस्तुहरु आयात भएको हो ।

 

गत आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ९६ करोड २७ लाख रुपैयाँ बराबरको औषधिजन्य जस्तु आयात भएको भन्सारको तथ्यांकले देखाएको छ ।

 

औषधिजन्य वस्तु आयात गत वर्षको तुलनामा २ प्रतिशतले घटेको हो । पछिल्लो समय कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशभर लक डाउन गरिएको छ । भारत तथा चीनको नाका समेत अत्यावश्यक वस्तु बोहकका सामग्री आयातमा रोक लगाइएको छ ।

 

यस्तै भारतले सिटामोल निर्यातमा समेत रोक लगाएको छ । भारतले प्यारा सिटामोल निर्यातमा रोक लगाएको हो । जेनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ प्रकारका सामग्री समेत निर्यातमा रोक लगाएको छ । साथै ती सामग्रीबाट बन्ने औषधिको निर्यातमा समेत रोक लगाएको हो ।

 

भारतले फागुन २० गतेबाट औषधि निर्यातमा रोक लगाउने घोषणा गरेको हो । भारतले नियन्त्रण गर्ने घोषणा गरेका औषधिमा प्यारासिटामोल पनि पर्छ । यो औषधि शरीरको दुखाई कम गर्न विश्वभरी सबभन्दा धेरै प्रयोग गरिने औषधि हो ।

 

चीनमा औषधिउद्योगहरु बन्द हुन थालेपछि औषधिअभाव हुन सक्ने देखेर भारतले यस्तो निर्णय लिएको हो । नेपाल धेरै औषधिहरु भारतहुँदै आयात हुने गर्छन् । जसको प्रभाव नेपालमा परेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

नेपाल औषधि उत्पादक संघले भने नेपालमा ३ महिनाका लागि औषधि उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थ रहेको दाबी गरेको छ । संघका अनुसार प्याकेजिङका लागि समेत आवश्यक पर्ने सामग्री ३ महिना पुग्ने गरी रहेको छ । हाल देशभर ६२ वटा औषधि उद्योगहरु रहेका छन् ।

 

गत आर्थिक वर्षमा कुल २० अर्ब ११ करोड ८२ लाख रुपैयाँ बराबरको औषधि तथा औषधि जन्य वस्तुहरु आयात भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा कुल २७ अर्ब २७ करोड ७८ लाख रुपैयाँ बराबरको औषधि तथा औषधिजन्य वस्तु आयात भएको थियो ।

 

नेपालमा भारतबाट सबैभन्दा धेरै मात्रामा औषधि तथा औषधि जनय वस्तु आयात हुने गर्छ । यस्तै, फ्रान्स, स्वीडेन, अमेरिक, चीन, पोर्चुगल, जर्मन, डेनमार्क, स्वीजरल्याण्ड, थाइल्याण्ड, इटली लगायतका देशहरुबाट पनि औषधि आयात हुँदै आएको छ ।

एनआईसी एशिया बैंकद्वारा मजदूरलाई खाद्यान्न सामग्री वितरण Read Previous

एनआईसी एशिया बैंकद्वारा मजदूरलाई खाद्यान्न सामग्री वितरण

एशियाको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण Read Next

एशियाको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण