यति बेला संसार नै संकटमा छ । प्रत्येक देशका नागरिकहरु आफ्ना दैनिक जीवनलाई एउटा निश्चित ठाँउमा रहेर चलाउनु पर्ने अवस्थामा छन् । यस्तो प्रतिकूल परिस्थितिले पहिलो प्रहार निम्नआय भएका वर्गलाई गर्ने गर्दछ ।
नेपाल आफैमा अल्पविकसित मुलुक हो । यहाँ न्यून आय भएका मानिसहरु धेरै छन्, प्रतिव्यक्ति आय कम छ । निर्वाहमुखी कृषिमा ६६ प्रतिशत जनसंख्या आश्रित छ । त्यसकारण तल्लो वर्गको दैनिक जीवनयापनमा सहजता होस र सरकारले अत्यावश्यक वस्तुको रुपमा तोकेका सामग्रीहरुको सहज उपलब्धताको लागि हामीले विशेष ध्यान पुर्याउनै पर्छ ।
उदाहरणका लागि, यसको व्यवहारिक अर्थ के हो भने गाँउका कृषकले आफ्नो प्रमुख उत्पादन दूध विक्री गरेर अन्य आवश्यक वस्तुको खरिदका लागि रकम जोहो गर्न सक्छन् भने सहरका उपभोक्ताले अत्यावश्यक वस्तुको रुपमा रहेको दूध सहज रुपमा प्राप्त गर्न सक्छन् । त्यसैले यस्तो आपूर्ति श्रृंखलालाई प्रभावकारीरुपले चलाउनका लागि हामीजस्ता संघसंस्थाको भूमिका महत्वपूर्ण हुन आउँछ ।
यही दायित्वलाई ध्यानमा राखेर हामीले हाम्रो वागदेव दुग्ध उत्पादक सहकारी संस्था (निजगढ नगरपालीका, बारा) लाई यो संकटको घडीमा पनि व्यवस्थित रुपमा सञ्चालन गरिरहेका छौं ।

देश संकटको घडीमा रहेको छ र सरकारले यति वेला सम्पूर्ण क्षेत्रमा लकडाउन गरेको छ । राज्यका नागरिकलाई अति आवश्यक पर्ने वस्तु/सेवा लाई सूचीकृत गरी ती वस्तुहरुको संकलन तथा विक्री वितरण गर्न सरकारले अग्रसरता देखाएको छ । ती अत्यावश्यक वस्तुको सूचीमा दूध तथा दूधजन्य प्रदार्थ पनि रहेका छन् ।
सरकारको तर्फबाट देखाइएको अग्रसरतालाई साथ दिँदै वागदेव दुग्ध उत्पादक सहकारी संस्थाले पनि दूध संकलन गर्ने कार्य सुचारु गरिरहेको छ । सरकारले तोकेको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा पूर्ण रुपमा पालना गरी दूध संकलन कार्य गरिरहेको छ ।
दूधसंकलन एवं वितरणको क्रममा सामाजिक दूरीको पालना गरिएका छन् । हातमा हुनसक्ने किटाणु नियन्त्रणका लागि स्यानिटाइजरको प्रयोग गर्ने गरिएको छ ।

साथै, यस्तो संकटको घडीमा हामीले नगरपालिका, स्वास्थ्य विभाग, प्रहरी प्रशासन र हाम्रा दूध संकलन केन्द्र भएका वडा कार्यालयहरुका साथै समग्र किसानहरुको सल्लाह र सुझाव अनुसार नै यस संस्थाले दूध संकलन कार्य पूर्ण सर्तकताका साथ अघि बढाइरहेको छ ।
हामीले अहिले यस संस्थाको ११ वटा दूध संकलन केन्द्रबाट दैनिक ९ हजार लिटर दूध संकलन गर्दै आएका छौं । उक्त संकलित दूधलाई देशका विभिन्न डेरी उद्योगहरुलाई विक्री गर्दै आएका छौं । उक्त दूध विक्रीबाट मासिक रुपमा औसत १ करोड ५० लाख आम्दानी गर्दै आएका छौं । यसले यो संकटको घडीमा धेरै किसानहरुलाई राहत दिएको हाम्रो अनुभव रहेको छ ।
संस्थाले संकलन गर्दै आएको दूधको रकम प्रत्येक १५/१५ दिनमा सोही संकलन केन्द्रमार्फत भुक्तानी दिदै आएका छौं । हामीले कृषक सेयर सदस्यहरु विभिन्न खाले कृषक प्रोत्साहन कार्यक्रम समेत प्रदान गर्दै आइरहका छौं ।
उदाहरणका लागि, हरेक १५ दिनको भुक्तानीमा संस्थाको तर्फबाट प्रतिलिटर २ रुपैयाँ थप गरी भुक्तानी, कृषक पेन्सन कार्यक्रम अन्तर्गत कृषकले प्राप्त गर्ने रकमबाट प्रतिलिटर १ रुपैयाँ कट्टा गरी संस्थाको तर्फबाट २ रुपैयाँ ५० पैसा थप गरी हुन आउने ३ रुपैयाँ ५० प्रति लिटरको दरले एकमुष्ठ रकम दशैंको अवसर पारेर भुक्तानी दिने गरिएको छ । यी हाम्रा सदावहार र कृषकहरुको दीर्घकालीन हितलाई ध्यानमा राखेर बनाइएका कार्यक्रमहरु हुन् । यो संकटको अवस्थामा पनि हामीले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिएका छौं ।

साथै, व्यवसायिक किसानहरुको हकमा (दैनिक ४० लिटरभन्दा बढी दूध विक्री गर्नेलाई टीएस कमिशनको २५ प्रतिशत र ८० लिटरभन्दा बढी विक्री गर्नेका लागि टिएसको ५० प्रतिशत कमिशन समेत प्रोत्साहनको रुपमा प्रदान गदैै आएका छौं ।
हामीले दीर्घकालीन रुपमा गर्दै आएका केही अन्य कामहरु
हामीले पशु सेवा कार्यक्रम अन्तर्गत भेटेनरी सुविधाहरु पनि प्रदान गरिआएका छौं । जस अन्तर्गत निःशुल्क गोबर परीक्षण, पशु औषधिहरुमा कृषकहरुलाई १० प्रतिशत छुटको व्यवस्था गर्दै आएका छौं । समय अनुसार घाँसका बीउहरु वितरण गर्दै आएका छौं । हरेक संकलन केन्द्रबाट पशुआहारको (पशु दाना,चोकर तथा ढुटो) व्यवस्था गरेका छौं ।
युवा पुस्ताहरुलाई पशु व्यवसायमा आकर्षित गराउनका लागि युवा मैत्री कार्यक्रमहरुको व्यवस्था गरेका छौं । हामीले सहुलियत कर्जा लागि संस्थाको जमानतमा किसानहरुको विना धितो समूहगत जमानीमा प्रति कृषक सेयर सदस्यलाई न्यूनतम १ लाखदेखि अधिकतम ५ लाखसम्म ऋण उपलब्ध गराउदै आइरहेका छौं । हालै मात्र हामीले हिमालयन बैंक, सनराइज बैंक तथा नेपाल इन्भेटमेन्ट बैँक सँग सम्झौता गरेका छौ । उक्त सम्झौता कार्यान्वयन यही आउँदो बैशाखबाट सुरु हुने छ ।
यसका साथै पशु बीमा कार्यक्रम पनि संस्था आफैले सँगसँगै लैजाँदै छ । हामीले डेरी उद्योग छिटै नै संचालनमा ल्याउदै छौं । हालसम्म भवन निर्माण कार्य सम्पन्न भइसकेको र मेशिन उपकरण जडान कार्य ५० प्रतिशत सम्पन्न भइसकेको अवस्था छ ।
तत्कालका लागि उद्योगबाट नौनी, घ्यू, पनिर, दूध तथा दही उत्पादन गरी विक्री वितरण गर्ने र प्रदेश नं. २ कै नमूना सहकारी डेरीको विकास गर्ने योजनामा लागेका छौं । हामीलाई उद्योग सञ्चालनमा नेपाल सरकारले पनि अनुदान प्रदान गरेको छ । हालसम्म २० जनालाई सहकारीमा रोजगारी प्रदान गरेकोमा उद्योग सञ्चालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सय देखि २ सय जनाले रोजगारी प्राप्त गर्ने छन् ।
-लेखक सहकारीका सचिव हुन्