काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले लकडाउन हुनु अगाडिनै हालको अवधिका लागि काटिएको टिकटको पैसा पूरै फिर्ता हुने जानकारी गराएका छन् ।
सरकारले यसअघि पहिलो चरणमा १८ चैतसम्म र दोस्रो चरणमा चैत २५ गतेसम्म लकडाउन घोषणा गरेको छ । यस्तो अवस्थामा सम्पूर्ण आन्तरिक उडान ठप्प छ । लकडाउनका कारण उडान ठप्प भएपछि हवाई कम्पनीहरुले लकडाउन अवधि भरका लागि काटिएको टिकटको पैसा स्थिति सामान्य भएपछि गर्ने भएका हुन् ।
बुद्ध एयरले एक सूचना जारी गर्दै लकडाउन सकिएर स्थिति सामान्य भएपछि टिकटको पूरै पैसा फिर्ता हुने जनाएको छ । टिकट फिर्ता गर्न चाहनेले सम्बन्धित ट्राभल एजेन्सी वा बुद्ध एयरको कार्यालयबाट फिर्ता लिन सकिने बुद्ध एयरले जनाएको छ ।
यस्तै, यति एयरलाइन्सले पनि यस अवधिमा काटेको टिकटको पूरै पैसा फिर्ता हुने जनाएको छ । यात्रुले सम्बन्धित ट्राभल कम्पनी वा एयरलाइन्सको कार्यालयबाट पैसा फिर्ता लिन वा टिकट पुनःतालिका गर्न सक्ने जनाएको छ ।