काठमाडौं । कोरोना भाइरसको कारण नेपाल लक डाउन भएको आज चौथो दिन हो । सरकारले नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन अग्रह गर्दै आएको छ भने घरमा रहेका मानिसमा एक किसिमको त्रास देखिन सुरु भएको छ ।
सरकारले सुरुमा एक हप्ताको लागि भन्दै गरेको लक डाउनको अवधि बढाएर २१ दिन पुग्न सक्ने मन्त्रीहरुले बताउन थालेका छन् । एक हप्ताको लागि अत्यावश्क वस्तु किनेर बसेका मानिसलाई भोलिको अवस्था कस्तो हुने छ भन्ने चिन्ताले सताउन थालेको छ भने बजारमा आवश्यक बस्तु किन्न सक्ने अवस्थासमेत छैन ।
यस्तोमा हाम्रा अत्यावश्यक सेवा र वस्तु उत्पादन गर्ने उद्योगहरु कसरी संचालन भइरहेका छन् भन्ने विषय सर्वत्र चासोको विषय बनेको छ ।
अहिले खाद्यान्न, औषधि जस्ता अत्यावश्यक वस्तुको उत्पादन केही मात्रामा भइरहेको भएपनि आफ्नो पूर्ण क्षमतामा उद्योग चलाउन सक्ने अवस्था नरहेको व्यवसायीहरुको भनाई छ ।
‘अहिलेको अवस्थामा उद्योग पूर्णक्षमतामा चलाउन सक्ने अस्था छैन । तर, पनि हामीले मिलाएर उद्योग संचालन गरिरहेका छौं । यसले तत्काल नेपालमा उत्पादन हुने औषधि को अभाव बजारमा हुने छैन’, सिएनआईका निवर्तमान अध्यक्ष तथा देउराली जनता फर्मासिटिकल्स प्रालिका एमडी हरिभक्त शर्माले चाणक्य पोष्टसँग भने ।
अहिलेको अवस्था निकै ठूलो संकट भएको भन्दै शर्मा भन्छन् ‘विपद व्यवस्थापन गर्ने समयमा हामीले सुझबुझ पूर्ण तवरले काम गर्न जरुरी छ । त्यसको लागि सबै तह र तप्काबाट सहयोग हुन्छ भन्ने हामीले आशा लिएका छौं ।’
आयातीत औषधिको हकमा पनि अहिले राम्रो स्टक रहेको आयातकर्ताहरुले बताउँदै आएको शर्माले बताए । त्यसैले बजारमा औषधिको तत्काल अभाव नहुने उनको भनाइ छ ।
नेपालमा रहेका खाद्यान्न उद्योग केही समयको लागि संचालन भइरहेको भएपनि त्यहाँ उत्पादन भएका वस्तु बजारमा पुग्न सक्ने अवस्था छैन ।
‘उद्योग मन्त्रीले सबै अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग चलाउन भन्नु भएको छ तर उद्योग चलाउन जनशक्तिको अभाव छ । यद्यपि हाम्रा उद्योगहरु केही समयको लागि चलिरहेका छन्’, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ।
उनका अनुसार उद्योगमा वस्तु उत्पादन भएपनि बजारसम्म ल्याएर विक्री गर्ने व्यवस्थित नेटवर्क नहुँदा समस्या भएको छ ।
काठमाडौं उपत्यकामा मात्रै १७ हजारभन्दा बढी अत्यावश्यक वस्तु विक्री गर्ने पसलहरु छन् । यी सबैलाई खोलेर व्यापार संचलन गर्न सक्ने अवस्था छैन भन्दै गोल्छा भन्छन् ‘हामीले सरकारलाई सुझाव दिएका छौं, हाम्रा उत्पादन खाद्य संस्थानले विक्री गर्ने वातावरण तयार गर्नु पर्छ ।’
अहिले नेपाल उद्योग वाणिज्य महासंघले पनि सबै उद्योगीलाई आ-आफ्नो उद्योग संचलनमा राख्न आग्रह गरेको छ । भोलिको दिन कसरी अगाडी बढ्छन् त्यसलाई हेरर अगाडी बढ्नु पर्ने गोल्छाले बताए ।
अहिले उद्योगले उत्पादन गरेका वस्तु बजारसम्म पुग्ने अवस्था छैन भने आवश्यक कच्चा पदार्थ ड्राइपोर्टसम्म आइपुगेपनि उद्योगसम्म ल्याउन सक्ने अवस्था नरहेको व्यवसायीहरुको भनाइ छ ।
नेपालकै ठूलो मध्यको एक निम्बस समूहले संचालन गरिरहेको केही उद्योग चालू भएको भएपनि उत्पादित सामान बजारमा पठाउन सकेको छैन ।
‘बजारमा पठाएर पनि बेच्नसक्ने अवस्था छैन । अहिलेसम्म एक दुईवटा उद्योग संचालन भइरहेका छन् । अहिलेकै अवस्था कायम रहे मजदूर काममा आउने अवस्था छैन । फेरि उद्योग अहिल्यै बन्द गर्दिने हो भने अवश्यक भएको खण्डमा तत्काल खोल्नसक्ने अवस्था पनि छैन,’ निम्बस समूहका कार्यकारी निर्देशक डा. दिनेश कुमार गौतमले चाणक्य पोष्टसँग भने ।
यसले बजारमा वस्तु ल्याएरपनि उपभोक्तामा पठाउन सक्ने अवस्था नरहेको र उद्योगमा मजदूर कच्चा पदर्थको समस्या देखिन थालेको प्रस्ट हुन्छ ।