इन्डक्सन चुल्होमा खाना पकाउनेले विद्युत् महसुलमा २० प्रतिशत छुट पाउने

काठमाडौं । सरकारले इन्डक्सन ( विद्युतीय चुल्हो) बाट खाना पकाउनेलाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।

 

लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत् महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरी इन्डक्सन चुल्हो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

 

कोरोना भाइरसको संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत् खपतमा भारी गिरावट आएको छ भने ग्यासको माग बढ्दै गएको छ । यस्तो अवस्थामा विद्युत् खपत बढाई ग्यासको माग घटाउन मन्त्रालयले यस्तो नीति अपनाएको हो ।

 

बिहान बेलुकाको समयमा विद्युत्को माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको प्राधिकरणले जनाएको छ ।

 

यसअघि बुधबार बसेको नोभेल कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो ।

कोरोनाले थला परेको अर्थतन्त्र उकास्न अमेरिकाले ल्यायो सवा २ खर्ब डलरको आर्थिक प्याकेज Read Previous

कोरोनाले थला परेको अर्थतन्त्र उकास्न अमेरिकाले ल्यायो सवा २ खर्ब डलरको आर्थिक प्याकेज

अत्यावश्यक वस्तु उत्पादनमा अन्योलता, यस्तो छ उद्योगीको भनाइ Read Next

अत्यावश्यक वस्तु उत्पादनमा अन्योलता, यस्तो छ उद्योगीको भनाइ