संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या १ हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक तथा जनस्वास्थ्यलाई ध्यान दिँदै अमेरिकी माथिल्लो सदन सिनेटले बुधबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको २ खर्ब २० अर्ब अमेरिकी डलरको विशाल आर्थिक प्याकेज अनुमोदन गरेको छ । यो रकम कोरोना संक्रमणबाट असर परेका व्यवसाय, कामदार र स्वास्थ्य सेवा प्रणालीमा खर्च हुनेछ ।
सिनेटमा रिपब्लीकन र डेमोक्रेटिक दुबै पार्टीले सहमति जनाउनु अघि उक्त राहत प्याकेजको सही कार्यान्वयनका सन्दर्भमा निकै लामो बहस भएको थियो । अमेरिकी इतिहासमै यो सर्वाधिक ठूलो आर्थिक सहायता विधेयक हो ।
अमेरिकी जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण विश्वभर मृतकको संख्या २१ हजार नाघिसकेको छ भने झण्डै ७० हजार व्यक्ति संक्रमित छन् ।
कोरोनाको प्रसार रोक्ने उद्देश्यले विश्वका अधिकांश मुलुकले अपनाएझैं अमेरिकाका धेरैजसो राज्य एवं शहरले मानिसको आवतजावतलाई नियन्त्रण गर्दै लकडाउन गरेका छन् ।
अमेरिकामा अहिले ठूलो जनसंख्या रहेको न्यूयोर्क शहर सबैभन्दा बढी प्रभावित छ । यहाँ ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३०० को हाराहारीमा मानिसको मृत्यु भएको छ ।
न्यूयोर्कका स्वास्थ्य अधिकारीहरु अहिले मानिसको उपचारका लागि शैयाहरु र स्वास्थ्य उपकरणको खोजीमा जुटेका छन् । उनीहरुले केही साताभित्रै बिरामी मानिसको संख्या अरु बढ्ने सम्भावना देखिएको जनाउँदै थप चिकित्सक र नर्सका लागि आह्वान गरिरहेका छन् ।
न्यूयोर्कमा इटाली र स्पेनको जस्तै परिस्थिति उत्पन्न हुन लागेको भन्दै न्यूयोर्कका स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।
-एजेन्सी