काठमाडौं । नेपालमा कोरोना भाइरस संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री खरिद गर्न विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले यो सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
भीजी फाउन्डेसनले अब एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपूर्तिकर्तासँग सहकार्य गरिरहेको छ ।
कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले वीर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्क वितरण गरेको थियो ।
फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकमीप्रति सम्मान रहेको विशाल ग्रुपले बताएको छ ।
यो विषम परिस्थितिमा भीजी फाउन्डेसन आफ्नो स्रोत र शीपको माध्यमबाट मुलुकलाई सहयोग गर्न प्रतिबद्ध र भविष्यमा आवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर रहेको कम्पनीले बताएको छ ।