काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ ।
अर्थ मन्त्रालयले चैत मसान्तमा बैंक वित्तीय, तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज तिर्नु नपर्ने व्यवस्था मिलाउन राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देशको अवस्था ठप्प भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुका लागि सरकारले सहुलियत दिन बैंक तथा वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो ।
‘संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकाले कोरोना प्रभावित व्यवसायहरुको साँवा ब्याज असुली सम्बन्धी कार्य चैत्र मसान्तसम्मका लागि स्थगन गर्ने निर्देशनमा उल्लेख छ । तर, कुन कुन व्यवसाय तथा क्षेत्र कोरोना प्रभावित भन्ने खुलाइएको छैन।
साथै अर्थमन्त्रालयले उक्त अवधिमा प्रवाह भएको कर्जाको वर्गीकरण तथा नउठेको खराब कर्जा बापत गर्नुपर्ने व्यवस्था पनि स्थगन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ।