काठमाडौं । नेपाली सेनाले मास्क र सेनिटाइजर उत्पादन शुरु गरेको छ । कोरोना भाइरसका कारण बजारमा मास्क र सेनिटाइजरको अभाव बढ्दै गएपछि त्यसको पूर्ति गर्न गतहप्तादेखि उत्पादन सुरु गरिएको सेनाले जनाएको छ ।सेनाले सञ्चालन गर्ने हरेक क्वारेन्टाइन तथा उपचारका क्रममा चाहिने आवश्यक मास्क र सेनिटाइजर उत्पादन शुरु गरेको हो ।
सोमबारसम्म १४० लिटर सेनिटाइजर तयार भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । हालसम्म २ हजार बढी थान माक्स उत्पादन भइसकेको उनले बताए ।
यस्तै ‘पर्सनल प्रोटेक्टीभ इक्यूपमेन्ट’ (कोरोना भाइरस उपचारका क्रममा लगाइने कपडा–पीपीई) समेत निर्माणको तयारी सेनाले गरेको छ । सेनाले पहिलो चरणमा १०० वटा पीपीई तयार गर्न लागेको उनले बताए ।
‘हामीले धमाधम मास्क र सेनिटाइजर बनाई रहेका छौं, अझै थप निर्माणका लागि कच्चा पदार्थको पनि माग गरेका छौं, चाँडै पीपीई पनि उत्पादन गर्ने छौँ,’ पाण्डेले चाणक्यपोष्टसँग भने ।
सो माक्स तथा सेनिटाइजर कोरोना विरुद्ध फिल्डमा खटिने नेपाली सेनाहरुलाई वितरण गरिनुका साथै क्लिनीक, मेडिकलहरुमा पनि वितरण गरिने उनले बताए ।नेपाली सेनाले उत्पादन गरिरहेको मास्क र सेनिटाइजर केही समयपछि बजारमा पनि पाउन सकिने उनले जानकारी दिए ।
विश्वभर फैलिदै गएको कोरोनाको उच्च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाइरसको रोकथामका लागि आवश्यक तयारी शुरु गरेको छ । कोरोना भाइरस संक्रमित आएमा नेपाली सेनाका डाक्टरसहितको रथीवृन्द तथा अधिकृतहरु सहितको कोर टिम गठन गरी अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने व्यवस्था मिलाइएको छ ।
नेपाली सेनाले कोरोना सम्बन्धमा प्रशिक्षण कार्यक्रम संचालन गरि क्वारेन्टाइन क्याम्प सेट अप गर्न शुरु गरेको छ । उक्त भाइरस विरुद्ध रोकथामका लागि प्रत्यक युनिटहरुमा सचेतनामूलक कार्यक्रम संचालन गरी स्थानीय स्तरमा क्वारेन्टाइन क्याम्प सेट अप गर्ने कार्य शुरु गरेको छ ।
यस्तै हालसम्म नेपाली सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आईसोलेशन वार्ड तयार गरेको छ । नेपाल सरकारले सीमामा स्थापना गरेको हेल्थ डेक्सहरुमा समेत दक्ष स्वास्थ्यकर्मी लगायत सुरक्षाको लागि नेपाली सेनाका व्यक्तिहरु परिचालन गरिएको छ ।
विभिन्न जिल्लाहरुमा प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाका स्थानीय स्तरको क्वारेन्टाईन तथा आईसोलेसन वार्डहरु तयार गर्न सहयोग गरिरहेको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनीकरणका लागि राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त विद्यार्थीहरुलाई स्वयम् सेवकको रुपमा सचेतना कार्यको लागि परिचालन गरिएको छ ।