पर्यटन क्षेत्रमा विश्वभर ५ करोड रोजगारी गुम्ने प्रारम्भिक अनुमान, नेपालमा कस्तो असर

काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा ट्राभल र पर्यटनको क्षेत्रको ५ करोड रोजगारीलाई जोखिममा पारिदिएको छ । यो वर्ष पर्यटन क्षेत्रमा कम्तीमा २५ प्रतिशतले कमी आउने जानकारहरु बताउन थालेका छन् ।

 

वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल (डब्लु टि टि सी) का अनुसार एसिया महादेशको पर्यटन क्षेत्रमा महामारीको प्रभाव धेरै पर्ने देखिन्छ ।

 

यो महामारी कति लामो समय चल्छ भन्ने कुरा पनि कसलाई कति प्रभाव पर्छ भन्ने कुराले निर्धारण गर्छ । अहिले यात्रामा प्रतिबन्धहरु लागेका छन् । विश्वका सबै प्रमुख देश र क्षेत्रहरु लकडाउनको अवस्थामा छन् भने अमेरिकाले युरोपबाट आउने यात्रुहरुलाई रोख्न थालेको त्यो भन्दा निकै अघिदेखि नै हो ।

 

‘अहिले धेरै सरकारहरुले लिएका निर्णयहरुले त्यति धेरै मद्दत गरिहेका छैनन् । यसले आर्थिक क्षेत्रलाई अझ धेरै प्रभाव पार्न सक्छ’, डब्लुटिटिसीको कार्यकारी निर्देशक भर्जिनिया मेसिना बताउँछिन् । उनको विचारमा अहिले भाइरस नियन्त्रणका लागि चालिएका कदमहरु अति सामान्य छन् । यस्तो प्रतिबन्धले स्वास्थ्यकर्मीहरुको यात्रा र स्वास्थ्य पूर्वाधारहरुको ओसारपसारमा सोत कठिनाइ भएको उनको बुझाई छ ।

 

३ महिना ट्राभल क्षेत्र बन्द हुँदा १२ देखि १४ प्रतिशत रोजगारी गुम्ने डब्लुटिटिसीको आंकलन छ । डब्लुटिटिसीले महामारी पछि सरकारहरुलाई भिसा प्रक्रिया सहज बनाउन, ट्राभल कर घटाउन र विभिन्न छुटहरु दिन सरकारहरुलाई आग्रह समेत गरेको छ ।

 

मसिनाले यो क्षेत्रले पनि केही लचकता अपनाउन पर्ने बताएकी छिन् । उनका अनुसार मानिसहरुका ट्राभल प्लानहरु रद्द नगरेर पछि सार्न मिल्ने व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।

 

यता नेपालमा पनि पर्यटन क्षेत्र अहिले ठप्प नै छ । ‘अहिले पर्यटन क्षेत्रको कुरा गर्दा जीरोको अवस्थामा छ । केही पर्यटकहरु बाँकी छन् । नयाँ आउने कुरा भएन’, नाटाका पूर्वअध्यक्ष सीएन पाण्डेले भने ।

 

अन्तर्राष्ट्रिय तथ्याङ्को आधारमा हेर्दा महामारी पछि नेपालको पर्यटन क्षेत्र सामान्य अवस्थामा आउन १८ देखि २४ महिना लाग्ने पाण्डे बताउँछन् । रोजगारी के–कति गुम्लान भनेर चाँही अहिले त्यसै भन्न नसकिने पाण्डे बताउँछन् ।

 

‘चीन विस्तारै महामारीबाट बाहिर आउन थालिसकेको छ । अब भारतमा महामारीले कस्तो रुप लिन्छ त्यसै अनुसार नेपालको पर्यटन क्षेत्रमा पर्ने दिर्घकालिन असरका बारेमा आंकलन गर्न सकिएला’, पाण्डेले भने ।

 

‘अहिले नेपालमा धेरै लगानी रहेको हुँदा एयरलाइन्सको क्षेत्रमा बढि प्रभाव पर्ला भन्ने आंकलन गरिएको छ । तर, मेरो विचारमा होलटलको क्षेत्रमा पनि कम्ता लगानी छैन । दुवै क्षेत्रलाई दिर्घकालिन रुपमा बराबर असर पर्ला भन्ने मेरो बुझाई छ । ट्राभल एजेन्सीको क्षेत्रमा पनि अवस्था त्यस्तै हो,’ पाण्डेले चाणक्य पोष्टसँग भने ।

 

अहिले नेपालमा एयरलाइन्स र होटल दुवै ठप्प छन् । अपरेसनका केही कर्मचारीहरु भने होटललाई नै क्वारेन्टाइन गरेर बसिरेहेको अवस्था छ ।

 

उता विश्वव्यापी रुपमा हेर्दा भने होटल भन्दा पनि एयरलाइन्स र क्रुज जहाजहरुमा धेरै प्रभाव परेको डब्लुटिटिसीका अधिकारीहरु बताउँछन् ।
पर्यटन उद्योगले विश्वको जीडीपीको १० प्रतिशत हिस्सा ओगटेको छ ।

 

डब्लुटिटिसीका अधिकारीहरु अब बिस्तारै कुनै क्षेत्र बिशेष र उमेर बिशेषलाई हेरेर लकडाउन गर्दै जानु पर्ने बताउँछन्, महामारी नियन्त्रणमा आउन थालेपछि ।

 

डब्लुटिटिसीका अनुसार महामारी पछि पर्यटन क्षेत्र सहज अवस्थामा आउन कम्तीमा १० महिना लाग्नेछ ।

आपतकालीन अवस्थासँग जुध्न परिसंघको सहकार्य शुरू Read Previous

आपतकालीन अवस्थासँग जुध्न परिसंघको सहकार्य शुरू

सेनाले शुरु गर्‍यो मास्क र सेनिटाइजर उत्पादन, डाक्टरले लगाउने ड्रेस पनि बनाउने Read Next

सेनाले शुरु गर्‍यो मास्क र सेनिटाइजर उत्पादन, डाक्टरले लगाउने ड्रेस पनि बनाउने