विद्युतीय कारोवारलाई प्रोत्साहित गर्दै बैंक तथा वित्तीय संस्था

काठमाडौं । केन्द्रीय बैंकको निर्देशनअनुसार नै बैंक तथा वित्तीय संस्थाले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन विद्युतीय कारोवारलाई प्रमुख प्राथमिकता दिएका छन् । ती संस्थाले बैंकमा सकेसम्म नआउन र विद्युतीयरूपमा नै कारोवार गर्न आफ्ना ग्राहकलाई प्रेरित गरेका छन् ।

 

पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आइपीएसमार्फत पनि कारोवार वा भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएका छन् । बैंकमा नै जानुपर्ने ग्राहकलाई पनि कर्मचारीले प्रवेशद्वारमा नै ज्वरो नाप्ने उपकरण राखेर परीक्षण गरेका छन् । स्यानिटाइजर तथा हात धुने व्यवस्था गरेका छन् ।

 

बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोवार नै सबैभन्दा प्रभावकारी हुने, त्यसले भीडभाड घटाउने र एकअर्कामा सम्पर्कसमेत नहुने स्पष्ट पारेका छन् ।

 

नेपाल राष्ट्र बैंकले कर्मचारीमा हुनसक्ने सङ्क्रमण तथा संस्थाको नियमित कामकारवाहीलाई मध्यनजर गरी यथाशक्य न्यूनतम कर्मचारीबाट सेवा चालू राख्न भनेको छ । बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार ‘रिमोट एक्सेस, वर्क फम हाउस तथा सिफ्ट वाइज वर्क’ को व्यवस्था गर्न निर्देशन दिइएको छ ।

 

यस्तै बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा सङ्क्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपाय अवलम्बन गर्नसमेत भनिएको छ । केन्द्रीय बैंकले स्यानिटाइजर, मास्क, थर्मल स्क्यानिङ, पञ्जाको अनिवार्यरूपमा व्यवस्था गर्न निर्देशन दिएको छ ।

 

सेवाग्राहीको भीडभाड नहुने सुनिश्चितताका साथ सेवा प्रवाह गर्ने र विद्युतीय माध्यमबाट हुने कारोवारलाई थप प्रोत्साहित गर्न केन्द्रीय बैंकले भनेको छ । बैंकका कार्यकारी निर्देशक ढकालले सुरक्षाको प्रबन्धलाई विशेष ख्याल गर्न भनिएको बताए ।

 

यही चैत ९ गते आइतबारदेखि चैत २१ गतेसम्म सरकारले आवश्यक सेवाबाहेक अन्य सेवालाई बन्द गरेको छ । केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाले कम भीडभाड गरी सेवाग्राहीलाई सेवा दिन विद्युतीय कारोवारलाई प्राथमिकता दिएका हुन् ।

 

त्यसो त नेपाल बैंकर्स सङ्घले यही चैत ७ गते नै बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा भीडभाड कम गर्न तथा विद्युतीय कारोवारलाई प्रोत्साहन गर्न आग्रह गरिसकेको छ ।

 

इन्टरनेट मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोवारमा कुनै शुल्क नलाग्ने सङ्घले घोषणा गरिसकेको छ । कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ । नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपीएस सेवामा कुनै शुल्क नलाग्ने समेत व्यवस्था गरिएको छ ।

 

पछिल्लोपटक कोरोना भाइरसको सङ्क्रमण नोटबाट समेत फैलने एवं सर्नसक्ने अवस्था आएको छ । अध्ययनबाट कोरोना सङ्क्रमणको खतरा नोटबाट पनि देखिएको छ । नोट कारोवारको सट्टा कार्ड तथा विद्युतीय कारोवारको माध्यम प्रयोग गर्न आग्रह गरिएको छ । नेपाल बैंकर्स संघ डेभलपमेन्ट बैंकर्स एशोसिएशन र नेपाल वित्तीय संस्थासङ्घले नै ती विषयलाई पूर्णरूपमा लागू गर्न भनेका छन् ।

अन्य व्यापार ठप्प हुँदा खाद्यान्न विक्री ३५ प्रतिशतले बढ्यो Read Previous

अन्य व्यापार ठप्प हुँदा खाद्यान्न विक्री ३५ प्रतिशतले बढ्यो

४ वर्षसम्म लगानी जुटाउन नसकेपछि सिद्धकालीको विद्युत् खरीद सम्झौता खारेज Read Next

४ वर्षसम्म लगानी जुटाउन नसकेपछि सिद्धकालीको विद्युत् खरीद सम्झौता खारेज