अन्य व्यापार ठप्प हुँदा खाद्यान्न विक्री ३५ प्रतिशतले बढ्यो

काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम कम गर्न अत्यावश्यक बाहेक अन्य काममा बाहिर ननिस्कन आग्रह गरेको छ । आजदेखि लामो दूरीका सवारी साधनमा रोक लगाइएको छ । भारत र चीनसँगका सीमा नाका पनि बन्द गरिएको छ ।

 

अत्यावश्यक बाहेका कार्यालय तथा बजारका अधिकांश पसलहरु बन्द गरिएको छ । यससँगै मानिसहरु घरमै ‘सेल्फ क्वारेन्टाइन’मा बस्न थालेका छन् । जसले गर्दा बजारमा खाद्य सामग्रीको माग पनि बढेको छ । उपभोक्ताले खाद्य सामग्री स्टक राख्न थालेपछि यसको माग ह्वात्तै बढेको व्यापारीहरु बताउँछन् ।

 

कोरोनाको जोखिम बढ्दै गएपछि उपभोक्ताले दाल, भामल, नुन, तेल लगायत सामग्रीको जोहो गर्न थालेका छन् । सरकारले सर्वसाधरणलाई नआत्तिन र खाद्य सामग्री मौज्दात रहेको बताए पनि उपभोक्ताले खाद्य सामग्री अभाव हुने संभावना रहेको भन्दै स्टक राख्न थालेपछि बजारमा माग बढेको हो ।

 

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्लो समय कोरोनाका कारण खाद्य अपुग हुने हो कि भन्ने डरले मागमा उच्च वृद्धि भएको बताए । उनका अनुसार अहिले उपत्यकामा खाद्यको माग २५ प्रतिशतले वृद्धि भएको छ । विगतका केही दिनमा खाद्यान्नको विक्री ३५ प्रतिशतले वृद्धि भएको उनले बताए ।

 

अहिले खाद्यान्नको विक्री ह्वात्तै बढे पनि केही दिनमा माग घट्ने उनले बताए । उनले कोरोनाका डरले लाखौं मानिस उपत्यकाबाट बाहिरिएका र यहाँ बस्नेले पनि केही महिनाका लागि खाद्यान्न जोहो गरिसकेकाले केही दिनमा खाद्यान्नको माग घट्ने बताए ।

 

‘केही दिन अघिदेखि खाद्यान्न विक्री ३५ प्रतिशतले बढेको छ, अब क्रमश यसको माग घट्दै जान्छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने । उनले ६ महिनाका लागि पुग्ने सामग्री स्टकमा रहेकाले उपभोक्तालाई अनावश्यक स्टक नराख्न आग्रह समेत गरे ।

 

कोरोना भाइरस उत्पन्न हुने हो कि भनेर सर्वसाधनले खाद्य वस्तु अभाव नहोस भनेर आवश्यक जोहो गर्न थालेपछि व्यापारीले खाद्यान्नको मूल्य समेत वृद्धि गरेका छन् । चिनीमा प्रतिकेजी ५ रुपैयाँ बढेको छ । चिनीको मूल्य ८० रुपैयाँदेखि ८५ रुपैयाँ पुगेको हो ।

 

नयाँ चामल बोरामा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । विगतमा बोराको १ हजार ५ सय ५० देखि १ हजार ६ सय ५० रुपैयाँ पर्ने जिरा–मसिनो चामलको मूल्य हाल १ हजार ७ सय ५० रुपैयाँ पुगेको छ ।

 

यस्तै मासको दालमा १० देखि २० रुपैयाँ वृद्धि भएको छ । मासको दाल अधिकतम १ सय ५० रुपैयाँ प्रतिकेजी रहने गरेकोमा हाल प्रतिकेजी १ सय ७० रुपैयाँ प्ुगेको हो । नेपाली मुसुरोको दालको मूल्यमा ५ रुपैयाँ बढेको छ । मुसुरोको दालको मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँ पुगेको छ ।

कर्णाली सरकारको पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक, यस्ता छन् लक्ष्य Read Previous

कर्णाली सरकारको पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक, यस्ता छन् लक्ष्य

विद्युतीय कारोवारलाई प्रोत्साहित गर्दै बैंक तथा वित्तीय संस्था Read Next

विद्युतीय कारोवारलाई प्रोत्साहित गर्दै बैंक तथा वित्तीय संस्था