४ वर्षसम्म लगानी जुटाउन नसकेपछि सिद्धकालीको विद्युत् खरीद सम्झौता खारेज

काठमाडौं । तोकिएको शर्तअनुसार काम नगरेपछि नेपाल विद्युत् प्राधिकरणले सिद्धकाली पावर लिमिटेडसँग गरिएको विद्युत् खरीद सम्झौता (पीपीए) खारेज गरिदिएको छ ।

 

वित्तीय व्यवस्थापन गर्न नसकेपछि प्राधिकरणले आज सो कम्पनीसँग गरिएको सम्झौता खारेज गरेको हो । कम्पनीले धादिङ र नुवाकोटको सीमा नजिकै गल्छीमा कूल ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत् आयोजना निर्माण गर्न लागेको थियो ।

 

प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७३ जेठ २० गते विद्युत् खरीद सम्झौता भएको थियो । कम्पनीले २४ महिनाभित्र वित्तीय व्यवस्थापन गर्ने र निर्माणमा जाने गरी सम्झौता गरेको थियो ।

 

विद्युत् विकास विभागले सो आयोजनाको अनुमतिपत्र समेत यसअघि नै खारेज गरिदिएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले तोकिएको समयमा वित्तीय व्यवस्थापन गर्न नसकेको र अनुमतिपत्रसमेत सिद्धकालीको हकमा नभएकाले प्राधिकरणले सम्झौता खारेज गरिदिएको बताए ।

 

उनले कानूनअनुसार नै अनुमतिपत्रसमेत नभएको र सम्झौताको शर्तअनुसार २४ महिनाभित्र वित्तीय व्यवस्थापन नगरेकाले सम्झौता खारेज भएको जानकारी दिए ।

सम्झौता भएको चार वर्षसम्म पनि लगानी जुटाउन नसकेपछि स्वतः कानूनअनुसार नै सम्झौता खारेज भएको प्राधिकरणको भनाइ छ । उता सिद्धकाली पावरका प्रतिनिधि सञ्जिव न्यौपानले भने आफूहरुको सम्झौता कायमै रहेको बताए । ‘हामीले क्षमता घटाएर आयोजना निर्माण गर्न लागिपरेका छौँ । त्यसमा कुनै समस्या छैन,’ न्यौपानेले भने ।

 

प्रवद्र्धक कम्पनीले इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपीसीएफ) ढाँचामा चिनियाँ लगानीकर्ता भित्र्याएर आयोजना निर्माण गर्ने जनाएको थियो । एक चिनियाँ कम्पनीसँग पनि सो विषयमा सम्झौता भएको थियो । ती सबै सम्झौता कार्यान्वयन हुन नसकेको बताइन्छ । न्यौपानले क्षमता घटाएर आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइएको दाबी गरे ।

विद्युतीय कारोवारलाई प्रोत्साहित गर्दै बैंक तथा वित्तीय संस्था Read Previous

विद्युतीय कारोवारलाई प्रोत्साहित गर्दै बैंक तथा वित्तीय संस्था

भोलि बिहान ६ बजेपछि बाहिर निस्कन बन्देज, यस्ता छन् ८ निर्णय Read Next

भोलि बिहान ६ बजेपछि बाहिर निस्कन बन्देज, यस्ता छन् ८ निर्णय