काठमाडौं । कोरोनाको संभावित जोखिम कम गर्न सरकारले अत्यावश्य सेवाका बाहेक अन्य सबै क्षेत्रका सेवा बन्द गर्न निर्देशनसँगै पछिल्लो समय बिजनेश कम्प्लेक्सहरू धमाधम बन्द हुन थालेका छन् ।
यसैक्रममा मुलुककै पहिलो बिजनेश कम्प्लेक्स विशाल बजार कम्पनी पनि बन्द भएको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आजकै मितिदेखि लागू हुने गरी चैत २२ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको विशाल बजार भित्रका सम्पूर्ण पसलहरु करीब २ साताका लागि बन्द रहने कम्पनीले जनाएको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमित नभेटिए पनि विश्वभर आक्रमक रुपमा फैलिरहेको छ । यसैलाई मध्येनजर गर्दै सरकारले शनिबारदेखि नै अत्यावश्य सेवाबाहेक सबै क्षेत्र बन्द गर्न निर्देशन दिएको थियो ।
