नेपालमा ‘असल इँटा पद्धति’बाट उत्पादन शुरु

काठमाडौं । वातावरणीय दृष्टिले राम्रो मानिने आगोले नपोलेर नै इँटा उत्पादन गरिने ‘असल इँटा पद्धति’ नेपालमा शुरु गरिएको छ । माटो, सिमेन्ट, रसायन ‘स्वाइल स्टेब्लाइजर’ र पानीको मिश्रणबाट मजबुत पारी इँटा तयार गरिने यो प्रविधि कोरियन कम्पनी इन्नोसिएसआरले भित्र्याएको हो ।

 

आगोले नपोली उत्पादन गरिने इँटालाई ‘असल इँटा पद्धति’ भनिन्छ । जुन इँटा उत्पादनको क्षेत्रमा नवीनतम् वैकल्पिक प्रविधि हो । यस प्रविधिमा ‘मेशिन’बाट माटो, सिमेन्ट, स्वाइल स्टेब्लाइजर र पानीको मिश्रण गरी मेशिनबाटै प्रेसर गरेर इँटा तयार गरिन्छ ।

 

नेपालमा गोरखामा पहिलोपटक गोरखा इन्नोटेक प्रालिले सन् २०२० को फेब्रुअरीमा इन्नोसिएसआरको असल इँटा पद्धति अवलम्बन गरी उत्पादन र बिक्रीवितरण शुरु गरिसकेको जनाएको छ ।

 

आगोले इँटा पोल्नुपर्ने परम्परागत विधिका इँटाभट्टाको वातावरणीय तथा स्वास्थ्य समस्याको निराकरणका लागि यो प्रविधि भित्र्याएको इन्नोसिएसआरका वरिष्ठ बजार तथा बिक्री व्यवस्थापक ओशिका न्यौपानेले जानकारी दिए।

 

यस्तो प्रविधिबाट इँटा उत्पादन गर्दा १० गुणा उत्पादकत्व वृद्धि हुने, धेरै अदक्ष कामदारको प्रयोग नहुने साथै इँटाको गुणस्तर उच्च हुने र परम्परागत इँटाकै मूल्यमा उपभोक्तासम्म इँटा पुग्ने उनले दाबी गरे ।

 

यसको आफनै माटो परीक्षण गर्ने प्रयोगशाला भक्तपुरमा छ । कम्पनीको मुख्य उद्देश्य इँटा उत्पादनका क्षेत्रमा रहेका उद्यमीलाई इँटा उत्पादनको एउटा नयाँ वैकल्पिक प्रविधिको परिचय गराउने रहेको व्यवस्थापक न्यौपानेले बताए ।

 

इन्नोसिएसआर सन् २००८ मा स्थापना भएको कोरियन कम्पनी हो । यसले कोरियालगायत मलेसिया, फिलिपिन्स, चीन र नेपालमा इँटा उत्पादनको क्षेत्रमा नवीनतम् प्रविधि भित्र्याएको छ ।

 

इन्नोसिएसआरले शुरुआती समयमा इँटा उत्पादनको अवस्था बुझ्न नेपालका विभिन्न क्षेत्रमा करीब १८ महिना माटोको परीक्षण सम्पन्न गरिसकेको जनाएको छ ।

 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत साम लीले यस प्रविधिले इँटा उत्पादनको लागतमा कमी आउने, उत्पादकलाई वर्षैभरि उत्पादन गर्न मिल्ने र वातावरणीय तथा सामाजिक समस्याको समाधान गरी देश र जनतालाई योगदान पुग्ने बताए।

 

यस प्रविधिका लागि मेशिन र अन्य उपरकण भारतबाट ल्याइएको गोरखा इन्नोटेक प्रालिका सञ्चालक विकास श्रेष्ठले जानकारी दिनुभयो । इँटा उत्पादन गर्न उद्योग स्थापनाका लागि करिब ३ करोड रुपैयाँ लागत लागेको जानकारी गराउँदै उनले भने, ‘यस प्रविधिको इँटा बलियो र गुणस्तरीय छ, हामी विद्यमान इँटाकै मूल्यमा उपभोक्तालाई यो प्रविधिको इँटा उपलब्ध गराउने योजनामा छौँ ।’

 

यस प्रविधिको इँटा बनाउन आवश्यक पर्ने माटो, सिमेन्ट र पानी नेपालमै उपलब्ध भए पनि स्वाइल स्टेब्लाइजर हाल कोरियाबाट आयात गर्नुपरेको सञ्चालक श्रेष्ठले बताए।

 

यस उद्योगको करिब दुई करोड इँटा वार्षिक रुपमा उत्पादन गर्ने क्षमता हुन्छ । ललितपुरको पुल्चोकस्थित, इन्जिनीयरिङ क्याम्पसको निर्माण सामग्री परीक्षण प्रयोगशालाले असल इँटाको धेरै पक्षको प्राविधिक जाँच गरी यसको कडापन ‘१०ं एमपिए’ रहेको प्रमाणित गरिसकेको कम्पनीले जनाएको छ । जुन निर्माणको गुणस्तरमा उच्च रहेको मानिन्छ ।

कोरोना माथि विजयी भएको भन्दै चीनले पिटेको ढोललाई कति विश्वास गर्ने Read Previous

कोरोना माथि विजयी भएको भन्दै चीनले पिटेको ढोललाई कति विश्वास गर्ने

२५ जना भन्दा बढि भेला हुन नपाइने, सिनेमाहल लगायत मनोरञ्जन स्थलहरु सबै बन्द Read Next

२५ जना भन्दा बढि भेला हुन नपाइने, सिनेमाहल लगायत मनोरञ्जन स्थलहरु सबै बन्द