काठमाडौं। सरकारले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लागतयका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ ।कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो । यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ ।
अत्यावश्यक काम बाहेक आवतजावत, हिडडुल नगर्ने निर्णयसमेत गरेको छ । समितिले साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय समेत गरेको छ । यसको अनुगमन पनि गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गर्ने भएको छ ।
सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । बैठकले सर्वसाधारण नागरिकहरुलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध समेत गरेको छ ।

