काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्थायी समितिको बैठकले तत्काल निर्वाचनको कार्यक्रम रोक्ने वा नरोक्ने भन्ने विषयमा कुनै पनि निर्णय गरेको छैन ।
आज बसेको बैठकले अबको १० दिन कस्तो अवस्था आउँछ त्यो हेर्ने र १० दिनपछि अवस्था अनुसार अगाडि बढ्ने निर्णय गरेको हो ।
‘आज हामीले निर्वाचनको कार्यक्रम रोक्ने वा नरोक्ने भन्दापनि अहिलेको परिस्थितिमा कसरी उद्योगी व्यवसायी र आज जनमानसमा सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्यौ । अब १० दिनपछि अवस्था हेरी पुनः निर्णय गर्नेछौ’ एक स्थायी कमिटी सदस्यले भने ।
आज बोलाइएको स्थायी कमिटी बैठकले निर्वाचनको विषयमा ठोस निर्णय गर्ने भनिए पनि बैठकमा कोरोनाका कारण व्यवसायीक क्षेत्रमा परेको असर र अगामी दिनका चुनौतीसँग कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित भएको जनाइएको छ ।
चौतर्फी चासो बढ्दै जान थालेपछि अवस्था हेरेर अगाडि बढ्ने निर्णय गरेको महासंघ नेतृत्वले कोरोनाको असरको विषयमा तथ्यांक संकलन गर्ने बताइएको छ ।