काठमाडौ । यातायात व्यवस्था विभागले वैैदेशिक रोजगारीमा जानेलाई फास्ट ट्रयाकबाट स्मार्ट लाइसेन्स दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । सो व्यवस्था अनुसार विभागले रोजगारीका लागि विदेश जानेलाई २४ घण्टा भित्रै लाइसेन्स उपलब्ध गराउने भएको हो ।
नयाँ स्मार्ट लाइसेन्स मात्र नभई लाइसेन्स नवीकरणका लागि आउनेलाई समेत सोही व्यवस्था रहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
‘हामीले विदेश जानेका लाग टिकट र पासपोर्ट लिएर आउनेलाई आवेदन दिएको २४ घण्टा भित्र लाइसेन्स दिने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘साथै लाइसेन्स नवीकरण गर्न आउनेलाई पनि यो सुविधा दिइनेछ ।’
उनले यो सुविधा लिनका लागि भिसाको फोटोकपि, पासपोर्ट, टिकेट आवश्यक पर्ने बताए । साथै लाइसेन्सका आवेदन गरेको कार्यालयको सिफारिस चिठ्ठी पनि आवश्यक पर्ने छ । सो लाइसेन्स सिधै यातायात विभागको कार्यालयबाट २४ घण्टा भित्र लिन सकिने उनले दाबी गरे ।
यस सेवाका लागि छुट्टै शुल्क नलाग्ने विभागले जनाएको छ । वैदेशिक रोजगारी जाने अन्तिम तयारीमा रहेका दैनिक १ सयभन्दा बढी सेवाग्राही लाइसेन्स लिन आउने गरेको विभागको भनाइ छ ।
सेवाग्राहीले आफ्नो लाइसेन्स प्रिन्ट भयो कि भएन भनेर विभागको वेबसाइटमार्फत जानकारी लिन सक्नेछन् । साथै विभागको हेल्पडेस्कमा ०१–४४७४९२२ नम्बरमा फोन गरेर पनि जानकारी लिन सकिने विभागले जनाएको छ ।