काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले दुई नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारणलाई लक्षित गरी ‘सिटिजन्स संरक्षित बचत खाता’ र पेशाकर्मीलाई लक्षित गरी ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालनमा ल्याएको हो ।
बैंकले न्यूनतम ५ हजारमा खाताखोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५०% को उच्च ब्याजदर प्रदान गर्नेछ । साथै खातावालाले स्वास्थ्य र दुर्घटना बीमाको समेत लाभ प्राप्त गर्न सक्नेछन् ।
यो योजनामा संलग्न हुने ग्राहकका निम्ति ५० हजार रुपैयाँको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र ५ लाखसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ ।
यस्तै, शून्य रुपैयाँमै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५०% ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीको तलब व्यवस्थापनका लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीका निम्ति २५ हजार रुपैयाँको स्वास्थ्य बीमा र ३ लाखसम्मको दुर्घटना मृत्यु बीमाको व्यवस्था गरिएको छ ।
बैंकले यी दुबै योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागी विभिन्न प्रकारका सहुलियत समेत उपलब्ध गराएको छ । यी दुबै योजनामा निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा (मोबाईल), अनलाइन कारोबार लगायत सुविधाको वार्षिक शुल्कमा ५०% छुट दिने छ ।
साथै विदेशी मुद्रामा ड्राफ्ट/स्विफ्ट जारी गर्दा ५०% छुट, नेपाल भरीका जुन सुकै एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने सहुलियत दिएको छ ।
बैंकले हाल देशभरका ९३ वटा शाखा, ९१ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।