श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी असर बढ्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ ।

 

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेपछि श्रम स्वीकृति प्रदान गर्ने कार्य आजदेखि स्थगित गरिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले जानकारी दिए।

 

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) ओमन, बहराइन, कुवतेलगायतमा कोरोना भाइरस देखिएपछि ती मुलुकमा नेपाली कामदार नपठाउन सरकारलाई तीव्र दबाब परेको थियो । श्रम मन्त्रालयले यसअघि नै श्रम स्वीकृति स्थगन गर्ने तयारी गरेपनि निर्णय हुन सकेको थिएन ।

 

सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरिसकेको छ । कोरोनाको सङ्क्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाईसकेको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ ।

डेडिकेटेड र ट्रंक लाइनमा प्राधिकरणले लापरबाही गरेको ठहर Read Previous

डेडिकेटेड र ट्रंक लाइनमा प्राधिकरणले लापरबाही गरेको ठहर

हिमाल आरोहणको ६० करोड राजस्व गुम्दै Read Next

हिमाल आरोहणको ६० करोड राजस्व गुम्दै