काठमाडौं । वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड-१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ । कोरोना भाइरस डिजिसको विश्वव्यापी सङ्क्रमण बढेपछि नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पुगेको हो ।
मुलुकको पर्यटनको मुख्य आम्दानी गर्ने पर्वतारोहण क्षेत्रको वसन्त ऋतुमा हुने सबै आरोहण स्थगन गरिएको छ । यसले वार्षिक झण्डै ६० करोड रुपैयाँ राजश्व गुम्ने अवस्था सिर्जना भएको छ । वसन्त ऋतुको मुख्ययाममा हिमाल आरोहण रोकिँदा एक याममा मात्रै राज्यलाई झण्डै ५० करोड रुपैयाँ नोक्सानी हुने देखिन्छ ।
पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार अघिल्लो वर्ष वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणबाट ४९ करोड ६८ लाख रुपैयाँ सलामीस्वरुप जम्मा भएको थियो । सगरमाथाबाट मात्रै ४४ करोड २३ लाख रुपैयाँ राजश्व उठेको थियो । यस वर्ष पनि वसन्त ऋतुमा उल्लेख्य आरोहण हुने अपेक्षा गरिएको थियो ।
विभागका अनुसार अघिल्लो वर्ष सबै यामको आरोहणबाट ५६ करोड रुपैयाँ राजश्व उठेको थियो । यस वर्ष ६० करोड रुपैयाँ सलामी उठाउने लक्ष्य थियो । विदेशी नागरिकले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा ५ हजार ५०० डलर र गर्मी समयमा २ हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ ।
यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार रुपैयाँ , शरद् ऋतुमा ३७ हजार ५०० रुपैयाँ र गर्मी याममा १८ हजार २५० रुपैयाँ सलामी तिर्नुपर्ने व्यवस्था छ । सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ९१८ आरोहीले आरोहण अनुमति लिएकामा ६४४ आरोहीले सफल आरोहण गरेको विभागले जनाएको छ ।
अघिल्लो वर्ष वैशाख ३० देखि जेठ ११ गतेसम्म सगरमाथा आरोहण भएको थियो । सन् २०१८ को वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३८ आरोहण समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए ।
त्यस्तै सन् २०१७ मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही समूहले आरोहण अनुमति लिएका थिए । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य एक हजार ३०० भन्दा बढी हिमाल रहेको बताइन्छ ।
कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै यस वर्ष वसन्त ऋतुको सबै आरोहण स्थगन गर्ने बिहीबारको कोरोना नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पर्यटन विभागले जरुरी सूचना जारी गर्दै आरोहण स्थगन गरिएको जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा राखेपछि कोरोनाको त्रासले पर्यटन मात्र नभई सबै क्षेत्रमा तरङ्ग पैदा भएको छ । विशेषगरी मुलुकको समग्र अर्थतन्त्रलाई नै असर पुगेको सरोकार राख्नेहरु बताउँछन् ।
पर्यटनको मुख्य क्षेत्र होटल व्यवसाय, नागरिक उड्डयनलगायत क्षेत्रमा कोरोनाको प्रभाव परेको छ । अहिले होटल क्षेत्रमा मुश्किलले १५ देखि २० प्रतिशत औसत व्यापार तथा आन्तरिक हवाई उडानमा झण्डै ५० प्रतिशत व्यवसायमा गिरावट आएको सम्बद्ध अधिकारीले विज्ञप्ति निकालेर जनाइसकेका छन् । यता वसन्त ऋतुको मुखैमा बढी राजश्व उठ्ने क्षेत्र पर्वतारोहणबाट पनि राज्यले करौडौंँ गुमाउनुपर्ने अवस्था आएको हो ।
विभागको पर्वतारोहण शाखाका रामेश्वर निरौलाका अनुसार विभागबाट आजदेखि सबै हिमाल आरोहणको अनुमति बन्द गरिएको छ । बिहीबारसम्म साना हिमाल आरोहणका लागि पाँच वटा अनुमतिपत्र जारी भएको थियो ।
त्यस्तै सगरमाथा र ल्होत्से हिमालको पूर्वअनुमति दिइएको थियो । यसमा केही रकम पनि विभागले लिइसकेको छ । सगरमाथाको १० प्रतिशत र अन्य साना हिमालको पाँच प्रतिशत रकम अनुमतिपत्र जारी अगावै बुझाउनुपर्ने हुन्छ ।रासस