निर्माण सामग्रीको खपत आधा घट्यो, व्यवसायी भन्छन् कसैमा पनि उत्साह छैन

काठमाडौं । मुख्यगरी मंसिरदेखि वैशाखसम्ममा पूर्वाधार विकासका काम बढी हुने समय भनिन्छ । अन्य समयको तुलनामा यो समय पूर्वाधार निर्माणका सामग्री बढी खपत हुने गर्दछन् ।

 

विगतका वर्षहरुमा यस्तो भएता पनि यो वर्ष भने सो अवस्थामा परिवर्तन आएको छ । मुख्य सिजनमा नै सिमेन्ट तथा फलामे छडजस्ता बढी प्रयोग हुने निर्माण सामाग्रीको खपतमा कमी आएको हो ।

 

पछिल्लो समय चीनबाट फैलिएको कोरोना भाइरस (कोभीड १९) का कारण समग्र मुलुकको अर्थतन्त्रमा प्रभाव परेको छ । कोरोनाकै कारण नेपालमा समेत विगत २ महिनादेखि प्रत्यक्ष असर पर्दा मुलुक भित्रको निर्माण कार्य यति बेला ठप्प भएको छ, जसका कारण निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट तथा फलामे छड लगायत अन्य वस्तुहरुको खपत गत वर्षको सोही समयको तुलनामा दोब्बरले घटेको व्यवसायीहरु बताउँछन् ।

 

पूँजीगत अर्थात् विकास खर्च परिचालनमा सुधार नहुँदा, निर्माणाधीन अवस्थाका परियोजनाहरुको काम तीव्र नहुँदा र विगत २ महीनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले मुलुकभित्रका ठूला आयोजनाको कामको गति सुस्त छ ।

 

यसरी खपत कम हुनुमा पूर्वाधार निर्माणमा देखिएको सुस्तता र २ महिनादेखि चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको नोबल कोरोना भाइरसका कारण भएको सिमेन्ट तथा डन्डी उत्पादकहरुको भनाइ छ ।

 

गतवर्ष यही अवधिसम्म सिमेन्टको खपत ४० देखि ४५ प्रतिशतसम्म र डन्डीको खपत पनि सोही अनुपातमा रहेको थियो । तर, चालू आर्थिक वर्षको यस अवधिमा २५ देखि ३० प्रतिशतको आसपासमा खपत भएको सिमेन्ट र छड उत्पादकहरु बताउँछन् । पूँजीगत अर्थात विकास खर्च परिचालनमा सुधार नहुँदा, निर्माणाधीन अवस्थाका परियोजनाहरुको काम तीव्र नहुँदा र विगत २ महीनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले मुलुकभित्रका ठूला आयोजनाको कामको गति सुस्त छ ।

 

हालको समयमा भाइरसकै कारण पनि सिमेन्ट र फलामे छडको खपतमा ह्रास आएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाको भनाइ छ । ‘पूर्वाधार निर्माणको काम नै तीव्र भएको छैन,’ उनी भन्छन्, ‘खर्च गर्ने क्षमता नहुँदा र नयाँ परियोजनाहरु नआउँदा सिमेन्टको खपत गतवर्षको भन्दा पनि कम भएको हो ।’ उनका अनुसार अहिले २/३ महीनादेखि बजारबाट रकम उठ्न सकेको छैन र त्यस्तो अर्बौं रुपैयाँ रहेको छ । उनले चीनबाट फैलिएको कोरोनाका कारण क्षमता विस्तारमा लागेका उद्योगहरु पनि यथास्थितिमै बस्नुपर्ने अवस्था रहेको बताए ।

 

विकास निर्माणका काम नहुँदा यसले मुलुकका निर्माणसम्बन्धी उद्योगलाई प्रत्यक्ष प्रभाव पार्ने तर्क व्यवसायीको छ । शंकर ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द नेपाल–मुलुकमा पूर्वाधार निर्माणका काम सुस्त भइरहेका बेला कोरोना भाइरसले थप सुस्त बनाएको र त्यसको प्रभाव मुलुकभित्र देखिन थालेको बताउँछन् ।

 

अहिले आर्थिक गतिविधि नै कम भइरहेको हुँदा यसले बजार चक्र नै बिथोल्ने काम भइरहेको छ, नेपाल भन्छन् । ‘नयाँ परियोजनाहरु पनि अघि बढेका छैनन् उनले भने, ‘यसै पनि सिमेन्ट/डन्डीको खपत गत वर्षको भन्दा पनि कम भइरहेको छ ।’ त्यसमाथि अहिले कोरोनाका कारण त आयोजनाहरुको काम नै होल्ड हुने अवस्था छ ।

 

कच्चा पदार्थ आयात स्वात्तै घट्नुका साथै कामदार पनि नआउँदा ठूला निर्माणका कामहरु रोकिने अवस्था देखिन्छ–सीईओ नेपाल भन्छन् । गतवर्ष फलामे छडको खपत करीब १३ लाख मेट्रिक टन भएको थियो, तर अहिले यसको खपत दर सो विन्दुमा पनि नपुग्ने सम्भावना देखिएको नेपाल बताउँछन् ।

 

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह ठेकेदारहरुले समयमै भुक्तानी नपाउँदा फिल्डमा काम कम भएको बताउँछन् । विगतको तुलनमा निर्माण सामग्रीहरुको खपत कम भएकोमा उनी पनि सहमत छन् ।

 

कोरोनाका कारण लगानीकर्ता तथा उत्पादकमा उत्साह नभएको अध्यक्ष सिंहले टिप्पणी गरे । उनले भने, ‘सिमेन्ट तथा अन्य निर्माण सामग्रीहरु खपत नहुँदा लगानी नै जोखिममा पर्ने अवस्था छ । यसलाई न्यूनीकरण गर्न सरकारले केही ब्याज छूटलगायत प्याकेज लिन आवश्यक भैसकेको छ ।’

 

नेपालमा अहिले सिमेन्ट/क्लिंकर र फलामे छड उद्योगहरु मागभन्दा पनि बढी उत्पादन गर्ने क्षमतामा छन् । एशोसिएशनका अनुसार फलामे छडको माग वार्षिक १२ लाख मेट्रिक टन रहेको छ भने उत्पादन क्षमता ३० लाख मेट्रिक टन रहेको छ । संघका अनुसार नेपालमा सिमेन्टको माग तथा खपत १ करोड मेट्रिक टनभन्दा बढी रहेको छ भने कुल उत्पादन क्षमता १ करोड ५० लाख रहेको छ ।

सेयर बजारमा फेरि नेगेटिभ सर्किट, ६ कारोबार दिनमै २७५ अंकले घट्यो Read Previous

सेयर बजारमा फेरि नेगेटिभ सर्किट, ६ कारोबार दिनमै २७५ अंकले घट्यो

कतारका लागि श्रम स्वीकृति बन्द Read Next

कतारका लागि श्रम स्वीकृति बन्द