काठमाडौं । सेयर बजारमा मंगलबार नेगेटिभ सर्किट लागेको छ । कारोबार खुलेको दुइघण्टा भित्रै बजार सूचक करिब ५ प्रतिशतले घटेको बजार ४० मिनेट पछि खुलेको थियो । तर, त्यसपछि पनि बजार घट्ने क्रम जारी रहेपछि नकरात्मक सर्किट लागेर बन्द भएको छ ।
४ दिन बन्द रहेर खुलेको बजार मंगलबार ८६.३९ अंकले घटेर १३४९.१३ विन्दुमा आइपुगेको छ । पछिल्लो दुई सातामा नेप्से सूचकमा नेगेटिभ सर्किट लागेको यो दोस्रो पटक हो । यसअघि गत साताको सोमबार पनि बजार नेगेटिभ सर्किट लागेको थियो ।
पछिल्लो ६ कारोबार दिनमा मात्र सेयर बजारमा करीब २७५ अंकको गिरावट आएको छ । दुईसाता अघि १६३२ अंक पुगेको बजार ६ कारोबार दिनमै घटेर १३५० मा आइपुगेको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा देखा परेको छ । यसले विश्व अर्थतन्त्रमा मन्दी आउने अनुमान गरिएको छ । त्यसैको प्रभाव नेपाली सेयर बजारमा पनि परेको अनुमान गर्न सकिन्छ ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमित नभेटिए पनि विश्वका अधिकांश देशमा देखा परेको कोरोनाको प्रभाव नेपाली बजारमा पनि देखिएको हो । नेपालमा पनि कोरोना भित्रिन सक्ने संत्रासका कारण लगानीकर्ताको मनोबल गिर्दा आँत्तिएर सेयर बेच्नेको चाप बढ्दा बजारमा यति ठूलो गिरावट आएको हो ।
लगानीकर्ताको मनोबल गिर्दै जाँदा बजारमा ठूलो गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा डलर र सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदा अधिकांश देशका सेयर बजार भने हालसम्मकै नाजुक अवस्थामा पुगेका छन् ।