काठमाडौं । सधै एक साता अघि देखिनै चल्ने होलीको चहलपहल यो पटक भने सामसुम देखिएको छ । विश्वव्यापी रुपमै कोरोना भाइरसको त्रास फैली रहँदा त्यसको नेपालमा पनि असर परेको छ ।
कोरोना भाइरसको त्राससँगै सरकारले होली नखेल्न आग्रह गरेको छ । होली खेल्दा धेरै मानिसहरु भेला हुने र रंग लगाउने क्रममा एक अर्कामा भाइरस सर्ने सम्भावना हुने भएकाले होली नखेल्न अनुरोध गरिएको हो ।
कोरोनाको त्राससँगै बजारमा रंगको विक्री घटेको छ । विगतमा एक हप्ता अघि देखि नै रंगको व्यापार हुने गर्दथ्यो । तर, यो पटक होलीको एक दिन अघि मात्र तुलनात्मक रुपमा धेरै थोरै मानिसहरुले मात्र रंग खरिद गरेको व्यापारीहरु बताउँछन् ।
त्यसो भएता पनि रंगको आयातमा भने कमी आएको छैन । विशेष गरी होलीमा रंगको प्रयोग हुने गर्छ । वर्षेनी नेपालमा अर्बौं रुपैयाँको रंग आयात हुँदै आएको छ ।
चालु आर्थिक वर्षको ७ महिनामा (साउन–माघ) ३३ करोड ७२ लाख ७३ हजार रुपैयाँ बराबरको होली रंग आयात भएको छ । रंग आयातबाट कुल ५ करोड ५५ लाख रुपैयाँ राजश्व संकलन भएको भन्सार तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षमा सोही अबधिमा २५ करोड १७ लाख १८ हजार रुपैयाँ बराबरको होलीको रंग आयात भएको थियो । सो अवधिमा रंग आयातबाट ४ करोड ३९ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
गत वर्ष कुल ३ अर्ब १ करोड रुपैयाँ बराबरको रंग आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । त्यसबाट १ अर्ब १२ करोड ३२ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा कुल ३ अर्ब २७ करोड २६ लाख रुपैयाँ बराबरको रंग आयात भएको थियो । सो आयातका क्रममा १ अर्ब ११ करोड २३ रुपैयाँ राजश्व संकलनभएको भन्सार विभागले जनाएको छ ।
यस्तै, आर्थिक वर्ष २०७३/७४ सालमा १ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ बराबरको रंग आयात भएको थियो । प्रत्येक वर्ष रंगको आयात बढ्दो क्रममा रहेको छ । नेपालमा प्रत्येक चाडपर्वमा रंगको आवश्यक पर्ने तथा अबिर तथा केसरी दैनिक पुजापाठमा प्रयोग हुने भएकाले धेरै आयात हुने गरेको छ ।