काठमाडौं । पर्यटन क्षेत्रको ठूलो श्रमिक संगठन यूनिट्राभले छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कोरोनाका कारण दैनिक जीवनयापनमा कठिनाई उत्पन्न भइरहेका बेला एयरलाइन्स लगायत पर्यटन श्रमिकको रोजीरोटी खोस्ने काम कोही कसैले नगर्न संगठनले विज्ञप्तिमार्फत चेतावनी दिएको छ । संगठनले विज्ञप्तिमा लेखेको छ, ‘एयरलाइन्स देखि अन्य क्षेत्रमा कर्मचारी कटौती, पारिश्रमिक कटौती, सेवा सुविधामा कटौतीदेखि बेतलबी बिदा दिनेसम्मका विषय विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेका छन् । हाम्रो यूनियन यूनिट्राभले यस विषयलाई नजिकबाट नियालीरहेको छ ।
सतर्कता अपनाउनुभन्दा पनि बढीभन्दा बढी हौवा फिंजाएर पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, संस्कृति लगायत अन्य क्षेत्रका संघ संस्थाले सामाजिक शुरक्षा र श्रम ऐनले लागु गरेको व्यवस्था विपरित श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौती र अन्य सेवा सुबिधा कटौती गर्ने एकतर्फी भनाई आएको विषय हाम्रो संगठन यूनिट्राभलाई मान्य हुनेछैन’, विज्ञप्तीमा उल्लेख छ ।
संगठनले कर्मचारी कटौतीदेखि सेवा सुबिधा कटौती गर्नेलाई सचेत गराउँदै लेखेको छ, ‘विश्वव्यापी संकटको बेला नेपाली श्रमिकको दैनिकीलाई अझै संकटमा धकेल्ने प्रयास गरी कोही कसैले श्रमिकको रोजीरोटीमाथि खेलबाड गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्बन्धीत निकायले जिम्मेवारी लिनुपर्नेछ ।’
संगठनले कोरोनाका कारण पर्यटन क्षेत्रमा पुग्न गएको क्षतिप्रति भने दुःख व्यक्त गरेको छ ।