काठमाडौं । नेपालमा आधुनिक पद्धतिबाट इँटा उत्पादनका लागि कोरियन कम्पनी इन्नोसिएसआरले नेपालमा असल इँटा पद्धति व्यवसायको सुरूवात गरेको छ ।
नेपालमा हुने परम्परागत इँटा उत्पादनको विकल्पको रूपमा सो कम्पनीले ‘असल इँटा पद्धति’ ल्याएको हो । सो कम्पनीले पहिलो पटक नेपालको गोरखामा बिना धुँवा असल पद्धतिबाट इँटा उत्पादनको सुरुवात गरेको हो । यस उद्योगले वार्षिक २ करोड इँटा उत्पादन गर्ने छ ।
काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा इन्नोसिएसआरका सीईओ स्याम यूसल लीले नेपालमा यस पद्धतिबाट हाल उत्पादन हुने भन्दा १० गुणा बढी इँटा उत्पादन गर्न सक्ने बताएका छन् ।
यस इँटाको प्रयोगले वातावरणमा असर नपर्नुका साथै थोरै समयमा धेरै इँटा उत्पादन गर्न सकिने लिले बताए । उनले यस पद्धतिबाट उत्पादन हुने क्रममा इँटाका १ प्रतिशतका हाराहारीमा खेर गए पनि नेपालको परम्परागत पद्धतिबाट २० प्रतिशतको हाराहारीमा सामग्री खेर जाने बताए ।
त्यसले गर्दा यो पद्धति नेपालका लागि धेरै उपयोगी हुने उनको भनाइ छ । यसमा धेरै मजदूरको आवश्यक नपर्ने हुँदा धेरै खर्च नलाग्नुका साथै बाह्रै महिना इँटा उत्पादन गर्न सकिने उनले बताए । ‘यस पद्धतिमा जादा सुरुमा लागत महंगो जस्तो लागे पनि १ वर्षभरी उत्पादन गर्दा लगानी उठ्ने छ,’ लीले भने ।
यस पद्धतिबाट इँटा उत्पादन गर्दा प्रति इँटा ९ रुपैयाँ पर्न जाने कम्पनीकी बजार तथा विक्री व्यवस्थापक ओशिका न्यौपानेले जानकारी दिइन । हाल नेपालमा उत्पादन हुने इँटाको उत्पादन मूल्य प्रति इँटा ७ देखि ८ रुपैयाँ पर्न जान्छ । यो इँटा उत्पादन गर्दा माटो, सिमेन्ट, सोयल स्टाविल्जर र पानीको प्रयोग गरिन्छ ।
नेपालमा माटो, सिमेन्ट र पानी पाइने भए पनि सोयल स्टाविल्जर भने कोरियाबाट आयात गर्नु पर्ने लीले बताए । यस पद्धतिबाट उत्पादन हुने इँटाको आयु १ सय वर्ष रहने बताइएको छ । यस पद्धतिबाट उत्पादन हुने इँटा ५ दिनमा तयार हुने छ ।
नेपालको परम्परागत तरिकाबाट उत्पादन हुने इँटा तयार हुन २८ दिन लाग्ने गर्छ । हाल यस पद्धतिबाट इँटा निर्माण गर्ने ३० प्रतिशत सामग्री नेपालमै पाउने भए पनि ६० प्रतिशत सामग्री भने कोरियाबाट आयात गर्नु पर्ने उनले बताए । केही समयमा आयातीत कच्चा पदार्थका लागि समेत नेपालमै प्लान्ट खोल्ने योजना रहेको उनले बताए ।
कोरियामा सन् २००८ मा स्थापना भएको यस कम्पनीले मलेसिया, फिलिपिन्स, चीनमा पनी इँटा उत्पादनको प्रविद्धि पुर्याएको छ । हाल सो कम्पनीले नेपालमा लगानी गर्न लागेको हो ।
भविष्यमा इन्नोसिएसआरले नेपालमै मिक्सिङ प्लान्ट र म्यानीफ्याक्चरीङ प्लान्ट सञ्चालन गर्ने योजना बनाएको छ । मेसिनको मूल्य १५० हजार डलरका हाराहारीमा पर्ने अनुमान गरिएको छ भने यसको उत्पादनका लागि २ सय डलरका हाराहारीमा लागत अनुमान गरिएको छ ।