काठमाडौंको सडक बढार्न महानगरले सञ्चालनमा ल्यायो थप दुई नयाँ ब्रुमर, यस्तो छ रूट

काठमाडौं । काठमाडौं महानगरले थप २ वटा नयाँ ब्रुमर सञ्चालनमा ल्याएको छ । महानगरले इटालीबाट ल्याएको ती ब्रुमर गत सातादेखि सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिका अन्तर्गतको वातावरण विभागका प्रमुख हरी कुमार श्रेष्ठले जानकारी दिए ।

 

सो बु्रमर हाल कलंकी, गौशाला, एरपोर्ट, कोटेश्वर, ट्ङकेश्वर कालीमाटी, न्यूरो हस्पिटल लगायतका स्थानमा सरसफाइका लागि प्रयोग भइरहेको उनले बताए । थप दुई गरी हाल महानगरसँग ब्रुमरको संख्या ९ पुगेको छ । ती सबै ब्रुमर सञ्चालनमा रहेको उनले दाबी गरे ।

 

‘अहिले सबै ब्रुमर सञ्चालनको अवस्थामा छन्, सबै ब्रुमरले सडकको सरसफाइ गरिरहेका छन्, केही नयाँ रूट सरसफाइका लागि थप गरेका छौँ,’ वातावरण महाशाखा प्रमुख श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

विगतमा महानगरले ७ वटा मात्र ब्रुमर सञ्चालन गरेको थियो । ७ वटामध्ये ५ वटा ब्रुमर २०७५ चैत्र १२ गतेदेखि काठमाडौंका मुख्य–मुख्य सडक बर्ढान प्रयोगमा ल्याएको थियो । काठमाडौंका सडकको धूलो बढार्न महानगरले करीब ११ करोडमा ५ वटा इटालियन ब्रुमर खरीद गरेको थियो ।

 

थप २ वटा ब्रुमर चीनको छेन्दु नगरले अनुदानका रूपमा दिएको हो । चीनको छेन्दु नगरले दुई ब्रुमर २०७५ असार १ गते महानगरलाई हस्तान्तरण गरेको थियो ।

 

एउटा ब्रुमरले १ घण्टामा ५ किलोमिटर सडकको धूलो उठाउने क्षमता राख्छ । महानगरले दैनिक २ सय किलोमिटर सडक सफा गर्ने उद्देश्यसहित ब्रुमर ल्याएको हो । ५ वटा ब्रुमरमध्ये ४ वटा १६ टन क्षमता बराबरका छन् भने अर्को एउटा ६ टन क्षमताको रहेको छ ।

 

महानगरपालिकाले दैनिक राती ८ बजेदेखि बिहान ४ बजेसम्म ८ घण्टा ब्रुमर सञ्चालन गर्दै आएको छ । ४ वटा ठूला ब्रुमर १ करोड ७९ लाख ५३ हजार ११५ रुपैयाँको दरमा खरिद गरिएको हो भने अर्को सानो ब्रुमरको १ करोड ४८ लाख रुपैयाँमा खरिद गरिएको हो ।

 

हाल नेपालमा दैनिक १५ सय टन फोहर उत्पादन हुन्छ । उपत्यकामा मात्र दैनिक ८ सय टनका हाराहारीमा फोहर संकलन हुने गरेको छ ।

महासंघको नेतृत्वमा बसेर पुलको रूपमा काम गर्नेछु : उपाध्यक्ष ढकाल Read Previous

महासंघको नेतृत्वमा बसेर पुलको रूपमा काम गर्नेछु : उपाध्यक्ष ढकाल

भट्टामा नपकाइकनै इट्टा उत्पादन हुने आधुनिक प्रविधि भित्रियो Read Next

भट्टामा नपकाइकनै इट्टा उत्पादन हुने आधुनिक प्रविधि भित्रियो