महासंघको नेतृत्वमा बसेर पुलको रूपमा काम गर्नेछु : उपाध्यक्ष ढकाल

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने बताएका छन् ।

 

बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारणसभामा मंगलबार प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै ढकालले महासंघले देशमा तीन तहको सरकार बनेपछि देखिएका दुविधाका विषयमा सरकारसँग वार्ता र संवादमार्फत समाधान खोज्ने बताएका हुन् ।

 

‘तीन तहको सरकार बनेपछि नयाँ कानुन बनाउने क्रममा कतिपय नियम कानूनहरू सरोकारवालासँग छलफल नै नगरी आएकाले व्यवसायीमा केही भ्रम सृजना भएको छ,’ उनले भने, सरोकारवाला पक्षसँग छलफल नै नगरी, जानकारी नै नदिई आएका यस्ता कानून व्यवहारिक हुँदैनन् ।’

 

सरोकारसँग छलफल गरेर मात्र कानून ल्याउँदा कार्यन्वयनमा सहज हुने उनले बताए । उनले स्थानीय स्रोत साधनको प्रयोग हुने र स्थानीयस्तरमा रोजगारी सृजना गर्ने कुनै न कुनै आयोजना बागलुङमा तत्काल सुरु गर्न बागलुङका स्थानीय व्यवसायीहरुसँग छलफल भइरहेको बताए ।

 

ढकालले भने ‘व्यवसायीहरुले चुनावको समयमा जिल्लामा पुगेर धेरै आश्वासन दिने गरेको भन्ने सुनिन्छ । म त बागलुङ मै जन्मिएको हो । भाषण भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने मलाई लागेको छ । म के भन्न चाहन्छु भने, म जे बोल्छु, त्यो कार्यन्वयन गरेरै छोड्छु । हामीले केही समयमै कुनै न कुनै काम यहाँ सुरु गर्नेछौं ।’

 

उनले आफ्नो व्यवसायिक नेटवर्क सबै जिल्ला, नगरमा रहेकोले चुनावपछि नेतृत्वले जिल्लाका गुनासा नसुनेको भन्ने व्यवसायीको गुनासा आफ्नो हकमा लागू नहुने स्पष्ट पारे ।

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त Read Previous

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

काठमाडौंको सडक बढार्न महानगरले सञ्चालनमा ल्यायो थप दुई नयाँ ब्रुमर, यस्तो छ रूट Read Next

काठमाडौंको सडक बढार्न महानगरले सञ्चालनमा ल्यायो थप दुई नयाँ ब्रुमर, यस्तो छ रूट