काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ७ महिनाको अवधिमा लसुन, प्याज र टमाटरको आयातमा कमी आएको छ । गत आवको सोही ७ महिनाको तुलनामा चालू आवमा उक्त लसुन, प्याज र टमाटर अयातमा कमी आएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।
चालू आवको ७ महिनामा करीब २ अर्ब २७ करोड रुपैयाँ बराबरको लसुन, प्याज तथा टमाटर आयात भएको छ । सो अवधिमा करीब १ अर्ब ७६ करोड रुपैयाँको ४ करोड ५१ लाख केजी प्याज आयात भएको छ भने ३३ करोड ४६ लाख रुपैयाँको २ करोड ९२ लाख केजी टमाटर आयात भएको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै सो अवधिमा १८ करोड ११ लाख रुपैयाँको १७ लाख ९० हजार लसुन आयात भएको छ ।
गत आव अर्थात २०७५/७६ मा नेपालले करीब ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको लसुन, प्याज तथा टमाटर आयात भएको थियो । उक्त समयमा करीब २ अर्ब ९३ करोड रुपैयाँको ९ करोड २५ लाख केजी प्याज आयात भएको थियो भने २९ करोड ५० लाख रुपैयाँ बराबरको ५ करोड २८ लाख केजी टमाटर आयात भएको थियो । त्यस्तै, सो अवधिमा करीब २४ करोड ५८ लाख रुपैयाँको ३ लाख ४९ हजार केजी लसुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।
विभागको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा चालू आवमा १ अर्ब १९ करोड रुपैयाँ बराबरको प्याज, लसुन तथा टमाटर आयात कम भएको छ । उक्त अवधिमा आयात मूल्यमा मात्रै नभई परिमाणमा समेत कमी आएको विभागको तथ्यंकमा उल्लेख छ ।
भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्धका कारण प्याजको आयातमा कमी आएको विभागको भनाइ छ । त्यस्तै पछिल्लो समय चीनमा फैलिएको नोवल कोरोना भाइरसको कारणले चीनबाट लसुन आयत हुन नसक्दा यसको आयात कमी देखिएको बताइएको छ ।