काठमाडौं । पछिल्लो समय सुधारिँदै गएको मुलुकको व्यापार घाटाको स्थितिमा सातौं महिनामा पनि क्रमिक रुपमा सुधार भएको छ ।
चालू आर्थिक वर्ष २०७६/७७ को सात महिनामा मुलुकको निर्यात व्यापार २२ दशमलव ४१ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो । गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ४१ प्रतिशतले वृद्धि भएको निर्यात व्यापार ६५ अर्ब रुपैयाँमा पुगेको छ । गत आवको सात महिनामा नेपालले कुल ५३ अर्ब ७ करोड रुपैयाँको निर्यात व्यापार गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
निर्यात व्यापारमा सुधार आएसँगै हाल मुलुकको कुल वैदेशिक व्यापार घाटामा समेत कमी आएको छ । गत आवको पहिलो सात महिनामा ७ खर्ब ८० अर्ब रुपैयाँ व्यापार घाटा रहेकोमा चालू आवको सोही अवधिमा व्यापार घाटामा कमी आई ७ खर्ब ३८ अर्ब रुपैयाँमा सीमित रहेको छ । यो गत आवको तुलनामा ५ दशमलव ३३ प्रतिशतले कम रहेको छ ।
नेपालको निर्यात व्यापार सुधारोन्मुख रहँदा यसको सबैभन्दा चाख लाग्दो विषय भने निर्यातित वस्तु रहेको छ । मुलुकभित्र उत्पादन नै नहुने पाम आयल तथा भटमासको तेल सबैभन्दा बढी निर्यात भएको छ, जसका कारण पछिल्लो समय मुलुकको निर्यात व्यापारमा वृद्धि भएको भन्सार विभागको तथ्यांकले स्पष्ट पारेको छ ।
पाम आयल र भटमासको तेल निर्यातमा उलेख्य वृद्धि आएकाले निर्यातमा सुधार आएको छ । यस अवधिमा सबैभन्दा धेरै १३ अर्ब ८९ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
भारतले केही समय पाम आयल निर्यातमा प्रतिबन्ध लगाएकाले सात महिनामा खासै निर्यात भने बढ्न सकेको छैन । ६ महिनाकै हाराहारीमा पाम आयल निर्यात भएको तथ्यांक छ । यस्तै सोही अवधिमा ५ अर्ब ९४ करोड ६१ लाख ३० हजार रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।
समीक्षा अवधिमा १ अर्ब ६७ करोड रुपैयाँको चिया निर्यात भएको छ भने १ अर्ब ४६ करोड रुपैयाँको अलैची र २ अर्ब ४९ लाख रुपैयाँको अदुवा निर्यात भएको छ ।
निर्यात वृद्धिदर सकारात्मक देखिए पनि यसको दिगोपनामा भने अझै शंका गर्नुपर्ने ठाउँ रहेको यस क्षेत्रका विज्ञहरु बताउँछन् । ‘पाम आयलको निर्यात बढेकाले निर्यातमा सुधार देखिएको हो’ पूर्वसचिव पुरुषोत्तम ओझा, भन्छन्, ‘यो दीर्घकालीन नभएको हुँदा स्वदेशमै उत्पादन हुने वस्तुको उत्पदन बढाएर निर्यातमा जोड दिनु आवश्यक छ ।’
यस्तै ७ महिनाको अवधिमा आयातमा पनि कमी आएको विभागको तथ्यांकाले देखाएको छ । गत आवको सोही सात महिनाको अवधिको तुलनामा आयात ३ दशमलव ५६ प्रतिशतले घटेर ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँमा सीमित रहेको छ ।
जबकी गत आवको सोही अवधिमा नेपालले विभिन्न मुलुकबाट ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । पछिल्लो समय सरकारले विलासिताका वस्तुआयातमा कडाई गरेसँगै आयातमा कमी आएको हो ।