काठमाडौं । अपि पावर कम्पनीले ५ प्रतिशत बोनस सेयर र ४७ प्रतिशत हकप्रद बिक्री पछि पुनः ९० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ ।
कम्पनीले आमी चैत ७ गते हुने १६ औं वार्षिक साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस वितरण र धितोपत्र बोर्डबाट हालै स्वीकृत भएको ४७ प्रतिशत हकप्रद विक्रीपछि पुनः ९० प्रतिशत हकप्रद गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ। ५ प्रतिशत बोनस शेयर र ४७ प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ८१ करोड ७२ हजार पुग्नेछ।
कम्पनीले सोही चुक्ता पूँजीको १०० बराबर ९० अनुपातमा पुनः हकप्रद सेयर निष्काशन गर्नेछ। उक्त हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४३ करोड पुग्नेछ ।
हकप्रदबाट प्राप्त रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गर्ने प्रसताव पनि पारित गर्नेछ। कम्पनीको साधारण सभाले ५ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।
कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि चैत १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ कम्पनीको लाभांश पाउन र साधरणसभामा भाग लिनका लागि फागुन २९ गते सम्म सेयरधनी कायम हुनुपर्नेछ ।