काठमाडौं। स्टार्ट अप कम्पनी ‘हेल्थ एट होम’ले व्यवसाय विस्तारका लागि लगानी जुटाएको छ । कम्पनीले ‘प्राइभेट इक्विटी फर्म’ अक्सिजन मार्फत बिना धितो लगानी जुटाएको हो । कम्पनीका संस्थापक विशाल ढकालले आफूले १० वर्षको मिहिनेत पश्चात् बिना धितो लगानी जुटाउन सफल भएको बताएका छन् ।
हेल्थ एट होम सन् २००७ मा स्थापना भएको कम्पनी हो । यो स्टार्ट अपले स्वास्थ्य सेवाको क्षेत्रमा केही नयाँ क्षितिजहरु उघार्ने प्रयत्न गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई उनीहरु केन्द्रित विशिष्ट स्वास्थ्य सेवा घरघरमा पुर्याउँदै आएको छ ।
कम्पनीले ग्राहकहरुलाई घरमै डाक्टर, नर्स, भ्याक्सिन, फार्मेसी, फिजियोथेरापी, काउन्सलिङलगायत सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
‘जब मैले आफ्नो व्यवसायीक यात्रा शुरु गरें, म एउटा सिद्धान्तमा अडिग थिएँ कि म अफ्नो सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिएर काम गर्दिन । स्टार्ट अप कम्पनी भएका हुनाले धितो नराखी कुनै पनि बैंकले ऋण दिँदैनन् भनेर म प्रष्ट थिएँ । त्यसैले मैले आज लगानी जुटाउने दिनसम्म आइपुग्दा १० वर्ष निकै मिहिनेत गरें,’ ढकालले आफ्नो फेसबुक पेजमा लेखेका छन् । उनले लगानी रकम र लगानीको अवधि भने खुलाएका छैनन् । यस्ता सूचनाहरु सामान्यतः सार्वजनिक गरिँदैनन् ।
साथै, सोचलाई बुझिने व्यवसायीक ढाँचामा ढालेर काम गर्दै जानु आफ्ना लागि निकै रोचक यात्रा भएको ढकालले बताएका छन् । पछिल्लो समय नेपालमा नयाँ र रोचक स्टार्ट अपहरु शुरु हुन थालेसँगै लगानीका लागि प्राइभेट इक्वीटी फर्महरु पनि अगाडि आउन थालेका छन् ।
यस्ता फर्महरुले स्टार्ट अपहरुमा निश्चित प्रतिशत सेयर लिएर र निश्चित अवधिसम्मका लागि लगानी गर्ने गर्दछन् । कम्पनी नाफामा गएसँगै यस्ता प्राइभेट फण्डहरुले पनि लाभांश बुझने गर्छन् भने निश्चित अवधि पछि कम्पनीबाट आफ्नो सेयर बेचेर निस्कने गर्छन् ।
केही हप्ता अघि नेपालको चर्चित फूड डेलिभरी स्टार्ट अप फूडमाण्डुले पनि प्राइभेट इक्वीटी फर्म मार्फत आफ्नो दोस्रो चरणको लगानी जुटाएको थियो ।
उपत्यका भित्र सैयौं होटल र रेस्टुरेन्टहरुबाट हजारौं ग्राहकहरुलाई फूड डेलिभरी सेवा दिइरहेको फूडमाण्डुले आफ्नो सेवा क्षेत्र थप विस्तारको लागि एक प्राइभेट इक्वीटी फर्म मार्फत लगानी जुटाएको थियो ।