काठमाडौं । आईसीएफसी फाइनान्सले हालसम्मकै उच्च १२ प्रतिशत ब्याज दिने ‘१२% आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ जारी गरेको छ ।
योसँगै आईसीएफसी फाइनान्स ऋणपत्र जारी गर्ने पहिलो फाइनान्स कम्पनी बनेको छ । यसअघि ‘क’ वर्गका वाणिज्य बैंकहरूले मात्रै ऋणपत्र जारी गर्दै आएका थिए । बैंकहरू निष्काशन गरेका ऋणपत्रमा सर्वाधिक साढे १० प्रतिशतसम्म ब्याज दिँदै आएका छन् ।
फाइनान्सले २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र जारी गरेको हो । कुल निष्काशित २ लाख कित्ता ऋणपत्रमध्ये फाइनान्सले व्यक्तिगत तवरबाट १ लाख २० हजार कित्ता विक्री गर्ने छ । बाँकी ८० हजार कित्तामध्ये ७६ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने ४ हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको छ ।
७ वर्ष अवधिको सो ऋणपत्रमा लगनजी गर्नेले वार्षिक १२ प्रतिशतका दरले ब्याज पाउनेछन् । फाइनान्सको ऋणपत्रमा फागुन १३ गते (आज) देखि छिटोमा १६ गते र ढिलोमा २७ गतेसम्म आवेदन गर्न पाइने छ । उक्त ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम ७६ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताहरुले ग्लोबल आइएमई क्यापिटल, आईसीएफसी फाइनान्सका विभिन्न शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन सकिनेछ।
ऋणपत्रको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटलले रहेको छ। फाइनान्सले निष्काशन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ नेपालले मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी माइनस) रेटिङ प्रदान गरेको छ ।