किन सुके किराना पसल, मल तथा डिपार्टमेन्ट स्टोरहरूमा वर्षेनि २५% ग्राहक बढ्दै

काठमाडौं। पछिल्लो समय विश्वव्यापीकरणका कारण नेपालमा पनि ‘मार्ट कल्चर’ को विस्तार हुन थालेको छ । क्रमिक विकास एवं विस्तार हुँदै गएका यस्ता ट्रेण्डमा पछिल्लो समय नयाँ पुस्ता निकै रमाउने गरेका छन् । यसले घरघरैमा खुलेका स-साना किराना पसलहरुको व्यापारमा भने कमी आउन थालेको छ । अहिले नयाँ पुस्ता मात्रै नभएर पुराना पुस्ता पनि आज-भोलि मार्टमा आवश्यक वस्तु खरिद गर्न आकर्षित हुन थालेको पाइन्छ ।

 

नेपालमा अहिले थुप्रै त्यस्ता मार्ट, शपिङ मल एवं डिपार्टमेण्ट स्टोरहरु संचालनमा आएका छन् । विगत केही वर्ष यता नेपालमा यस्ता स्टोरहरु संचालनमा आउने क्रम उत्तिकै बढ्दै गएको छ । यसरी उक्त ठूल-ठूला स्टोरहरु संचालनमा आएसँगै पछिल्लो समय उपभोक्ताले सामान्य खुद्रा पसलहरुमा सामान खरिद गर्ने भन्दा डिपार्टमेण्ट स्टोरहरुमा खरिद गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

 

सँगै कृष्ण गल्लीमा भाटभटेनी खुलेपछि आफ्नो व्यापारमा झण्डै ५० प्रतिशत कमी आएको अनुभव सुनाउँछन् पाटनढोकाका एक किराना पसले ।

 

केही समय अघिसम्म विशेषगरी, यस्ता मल तथा मार्टहरुमा पढाइ वा कामका सिलसिलामा विदेश बसेर फर्किएका तथा शपिङका लागि हङकङ, मलेसिया, सिंगापुर, दुबई जाने संभ्रान्त वर्गका नेपालीहरु, जो सँग क्रय क्षमता बढी छ, बढी आकर्षित हुने गरेका थिए । मध्यम तथा निम्नवर्गका मानिसहरु शपिङ मल वा स्टोरहरुमा किनमेल गर्न खासै रुची राख्दैन थिए । यद्यपि पछिल्लो समय भने यसमा आमूल परिवर्तन आएको छ । मानिसहरु अन्य स्थानमा भन्दा त्यस्ता शपिङ मल, स्टोरमा किनमेल गर्न बढी सक्रिय हुने गरेका छन् ।

 

शपिङ मल तथा डिपार्टमेण्ट स्टोरहरुमा साना बच्चा देखि युवा तथा वृद्धहरु सबैका लागि आवश्यक सामानहरु एउटै छानामुनी पाइन्छ जसका कारण मार्ट कल्चर विस्तार पनि बढ्न थालेको छ । यसबाहेक स्टोरहरुमा डेबिट तथा क्रेडिटकार्डमार्फत सरल तरिकाले सामान खरिद गर्न सकिन्छ भने नगदमा पनि कारोबार गर्न सकिने हुँदा यसतर्फको आकर्षण बढ्न थालेको हो

 

बढ्दो सहरीकरण र मानिसहरुसँग समय अभावका कारण हाल नेपालमा पनि मार्ट कल्चरको प्रवृति बढ्न थालेको बिगमार्टका वित्त प्रमुख विवेक देव बताउँछन् ।

 

‘सबैको आ-आफ्नो कामका कारण अहिले मानिसहरु निकै व्यस्त हुन थालेका छन्’, देव भन्छन्, ‘यस्तो अवस्थामा उनीहरु विभिन्न स्थान गएर अनेक सामान खरिद गर्न भन्दा एउटै थलोमा सबै आवश्यक सामाग्री खरिद गर्न बढी रुचाउँन थालेका छन्’

 

यसबाहेक अन्य सामान्य पसलहरुको तुलनामा यस्ता ठूला स्टोरहरुमा गुणस्तर तथा भरपर्दो एवं सुपथ मूल्यमा नै उपभोक्ताले सामान खरिद गर्न सक्छन्, जसका कारण पछिल्लो समय धनी एवं उच्च आयस्रोत भएका उपभोक्ता मात्रै नभई मध्यम वर्गका उपभोक्तापनि मार्ट तथा ठूला स्टोरहरुमा किनमेल गर्न आकर्षित हुने गरेको देवको दावी छ ।

 

मल तथा डिपार्टमेन्ट स्टोरमा म्याद गुज्रेको सामानहरु बेच्छन् भनेर आम मानिसहरुमा गुनासो पनि नभएको होइन । तर पनि मानिसहरु त्यहिँ सामान किन्न आकर्षित भइरहेका छन् ?

 

वित्त प्रमुख देवका अनुसार, चाडपर्व तथा अन्य विशेष अवसरमा स्टोर तथा मलहरुमा सामानहरु खरिद गर्दा विशेष छुटको समेत व्यवस्था गरेको हुँदा यसले ग्राहक तान्न थप सहयोग पुर्याउँदै आएको छ । बिगमार्टमा मात्रै अहिले वार्षिक २५ प्रतिशतले उपभोक्ता वृद्धि हुने गरेको उनको दाबी छ ।

 

घर नजिकै रहेका सामान्य पसलमा खरिद गर्नुको सट्टा अलिक टाढा नै पुगेर भएपनि अहिले उपभोक्ताले डिपार्टमेण्ट स्टोर वा मार्टहरुमा सामान खरिद गर्ने गरेका छन् । एक मुठा धनिँया नै होस् वा एक प्याकेट बिस्कुट नै किन नहोस् उपभोक्ताको पहिलो रोजाईमा मल र स्टोरहरु पर्ने गरेको पाइन्छ ।

 

डिपार्टमेण्ट स्टोर तथा मालहरुमा किनमेल गर्दा उपभोक्ताको दैनिकीमा समेत परिवर्तन आएको र उच्च वर्गमा वर्गिकरण हुने सोच रहेकाले पनि मार्ट कल्चर निकै मौलाउन थालेको स्टोर संचालकहरु बताउँछन् । अझ भन्नुपर्दा हालको समयमा मार्ट तथा स्टोरहरुमा किनमेल गर्नुलाई उपभोक्ताले प्रतिस्पर्धाको रुपमा नै लिन थालेका र यो एक फेशनको रुपमा स्थापित हुन थालेको संचालकहरुको बुझाई छ ।

 

मल तथा डिपार्टमेन्ट स्टोरमा म्याद गुजे्रको सामानहरु बेच्छन् भनेर आम मानिसहरुमा गुनासो पनि नभएको होइन । तर पनि मानिसहरु त्यहिँ सामान किन्न आकर्षित भइरहेका छन् ?  ‘मानिसको लागि आफ्नो वर्गीय चेत महत्वपूर्ण हुन्छ । आफ्नो वर्ग उत्थान भएको महशुस यदि उनीहरुलाई हुन्छ भने सामान म्याद गुज्रेको भएर उनीहरुलाइ खासै फरक पर्दैन । मलमा सामान किन्न जानु नै प्रधान कुरा हुन्छ अनी सामान चाहीँ गौण हुन जान्छ,’ समाजशास्त्री मिलन बस्नेत बताउँछन् ।

 

आवश्यकताका सम्पूर्ण सामग्री एउटै थलोमा उपलब्ध हुने, गेमिङ जोन, फुड कोर्ट, मुभी हल लगायत पनि एकै स्थलमा रहने हुँदा शपिङ स्टोरहरुमा उपभोक्ता दैनिक रुपमा वृद्धि हुन थालेका भाटभटेनी डिपार्टमेण्ट स्टोरका प्रवन्ध निर्देशक पानु पौडेल बताउँछन् ।

 

‘सुपरमार्केट तथा मार्टले ग्राहकलाई विभिन्न अफर, सामाग्रीमा ग्यारेण्टी दिने, मुल्यमा बार्गेनिङ नहुने र गुणस्तरीय सामाग्री बिक्रि गर्ने हुँदा ग्राहकको आकर्षण बढ्दै आएको पौडेलको ठम्याई छ । ‘हाम्रो भाटभटेनीका विभिन्न स्टोरहरुबाट मात्रै दैनिक ४२ करोड रुपैंयाको कारोबार हुने गरेको छ’, पौडेल भन्छन्, ‘यसबाट पनि सजिलै अनुमान गर्न सकिन्छ की उपभोक्ता कति आकर्षित हुने गरेका छन् ।’ भाटभटेनी स्टोरमा वार्षिक २० देखि ३० प्रतिशतका दरले उपभोक्ता बढ्न थालेको उनले स्पष्ट पारे ।

 

शपिङ मल तथा डिपार्टमेण्ट स्टोरहरुमा साना बच्चा देखि युवा तथा वृद्धहरु सबैका लागि आवश्यक सामानहरु एउटै छानामुनी पाइन्छ जसका कारण मार्ट कल्चर विस्तार पनि बढ्न थालेको छ । यसबाहेक स्टोरहरुमा डेबिट तथा क्रेडिटकार्डमार्फत सरल तरिकाले सामान खरिद गर्न सकिन्छ भने नगदमा पनि कारोबार गर्न सकिने हुँदा यसतर्फको आकर्षण बढ्न थालेको हो ।

 

अझै भन्नुपर्दा पछिल्लो समय स्टोरहरुमा डेबिट तथा क्रेडिट कार्डमार्फत सामान खरिद गर्दा उपभोक्तालाई केही प्रतिशत ‘क्यास ब्याक’ को पनि व्यवस्था रहेको छ । यसले उपभोक्ता आकर्षणमा मद्दत पुर्याएको देखिन्छ । यसरी हेर्दा, नेपालमा पछिल्लो समयमा अत्याधिक मात्रामा विस्तार हुँदै गएका मल तथा डिपार्टमेण्ट स्टोरहरु, अन्तरराष्ट्रिय स्तरका सुविधासहित ब्राण्डेड सामानहरु खरिदका लागि उपयुक्त गन्तव्य साबित भएका छन् ।

 

नेपालमा मार्ट कल्चर फस्टाउँदै गएको अवस्थामा विभिन्न स्थानमा नयाँ तथा अधुनिक स्तरका स्टोरहरु संचालनमा आउने क्रम दैनिक बढ्दो छ । भाटभटेनी डिपार्टमेण्ट स्टोरको अहिले उपत्यका भित्र ११ र उपत्यका बाहिर ६ वटा गरी कुल १७ वटा चेन संचालनमा रहेका छन् ।

 

त्यस्तै, अर्को ठूलो स्टोरका रुपमा स्थापित बिगमार्टले पनि आफ्नो एक अलगै पहिचान बनाएको छ । हाल बिगमार्टको ४५ भन्दा बढी आउटलेट संचालनमा रहेका छन् भने कबेही समय भित्रै यसलाई ६० वटा पुर्याउने तयारी रहेको छ ।

 

पछिल्लो समय अग्रसर रहेको अर्को स्टोर रहेको छ सेल्स्बेरी डिपार्टमेण्ट स्टोर । काठमाडौं, पोखरा तथा धरानगरी हाल यसका १२ वटा वाउटलेट संचालनमा रहेका छन् । यसबाहेक उपभोक्ताको रोजाईमा पर्ने गरेका त्यस्ता अन्य थुप्रै मलहरु संचालनमा रहेका छन् ।

 

कमलपोखरीस्थित सिटी सेन्टर, त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर, न्यू रोडस्थित काठमाडौं मल, पुतलीसडकाको स्टार मल लगायतका अन्य थुप्रै मलहरु किनमेलका लागि उपभोक्ताको रोजाईमा पर्ने गरेका छन् ।

एनआईसी एशियाको 'न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजना' Read Previous

एनआईसी एशियाको 'न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजना'

पुर्नकर्जा कार्यक्रमप्रति आकर्षण बढ्दो, पौने २० अर्ब रकम पुर्नकर्जामा Read Next

पुर्नकर्जा कार्यक्रमप्रति आकर्षण बढ्दो, पौने २० अर्ब रकम पुर्नकर्जामा