विद्युतीय सवारीसाधन चार्जका लागि महशुल निर्धारण गरिँदै, यस्तो छ प्रस्तावित शुल्क

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन चार्ज गर्न लाग्ने महशुल दर निर्धारण गरेको छ । प्राधिकरणले चार्जिङ स्टेशनबाट विद्युतीय सवारीसाधन चार्ज गर्दा निजी तथा सार्वजनिक सवारीलाई भिन्न–भिन्न महशुल निर्धारण गरेको बताएको हो । यसरी, प्राकिरणद्धारा पहिलो पटक यस्तो महशुल दर निर्धारण भएको छ ।

 

पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको देखिन्छ । विद्युतीय सवारीसाधनको विस्तारसंगै प्राधिकरणले मुलुकका प्रमुख शहर र केही राजमार्ग आसपासका क्षेत्रमा ५० भन्दा बढी चार्जिङ स्टेशन निर्माण गरीरहेको छ भने निजी क्षेत्रका केही संचालनमा समेत आइसकेका छन् ।

 

प्राधिकरण स्वयंमले पनि यस्ता चार्जिङ स्टेशन निर्माण गर्न लागेको र निजीक्षेत्रले पनि चार्जिङ स्टेशन संचालनमा ल्याइसकेको अवस्थामा अब यसका लागि विद्युत महशुल निर्धारण गरिएको हो ।

 

हाल विद्युतीय सवारी विक्री गर्ने केही कम्पनी र निजीक्षेत्रको सुन्दर यातायातले चार्जिङ स्टेशन संचालनमा ल्याएका छन् । तर, यस्ता चार्जिङ स्टेशनमा सवारीसाधन चार्ज गर्दा लाग्ने महशुल कसरी उठाउने भन्ने विषयमा नीतिगत प्रावधान भने रहेको थिएन ।

 

तर, अब भने प्राधिकरणले महशुल स्वीकृतिका लागि विद्युत नियमन आयोगमा गत शुक्रवार नै प्रस्ताव पठाइसकेको छ । प्राधिकरणले ‘डिमाण्ड शुल्क’ नलाग्ने गरी ‘टाइम अफ डे’ मोडेलमा महशुल प्रस्ताव गरेको हो । प्राधिकरणले साँझ ‘पिक’ समय, ‘अफ पिक’ समय र अन्य समयका लागि फरक–फरक विद्युत महशुल प्रस्ताव पेश गरेको छ । साथै, केभी, भोल्टेजका आधारमा पनि फरक–फरक शुल्क निर्धारण गरिएको छ ।

 

प्राधिकरणका अनुसार, अहिले निजीक्षेत्रको सुन्दर यातायात प्रालिले निजी प्रायोजनका लागि काठमाडौंमा दुई वटा चार्जिङ स्टेशन संचालनमा ल्याएको छ । उक्त कम्पनीले प्रतियुनिट १० रुपैयाँ ५० पैसाका दरले प्राधिकरणलाई शुल्क बुझाउँदै आएको छ ।

 

त्यस्तै, हाल प्रस्तावित महशुलअनुसार साँझ ५ बजेदेखि राति ११ बजेभित्रको समयमा गाडी चार्ज गर्दा प्रतियुनिट ८ रुपैयाँ ४० पैसादेखि ११ रुपैयाँ ७० पैसा शुल्क लाग्नेछ । राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि प्रतियुनिट ४ रुपैयाँ ४५ पैसादेखि १० रुपैयाँ ३० पैसा सम्म शुल्क लाग्ने प्राधिकरणको प्रस्तावमा उल्लेख गरिएको छ । यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेभित्रको समयमा गाडी चार्ज गर्दा प्रतियुनिट ६ रुपैयाँ ६० पैसादेखि १० रुपैयाँ ३० पैसासम्म लाग्ने छ ।

 

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने प्रस्तावित महशुल दर महँगो भएको टिप्पणी गरेका छन् । हालको समयमा अधिकतम महशुल दर प्रतियुनिट १० रुपैयाँ ५० पैसासम्म मात्रै रहेको हुँदा प्राधिकरणले निर्धारण गर्ने उक्त महशुल दर महँगो रहेको थापाले बताए ।

एनआईसी एशियामा खाता खोल्दा २ लाख १४ हजारसम्म फाइदा Read Previous

एनआईसी एशियामा खाता खोल्दा २ लाख १४ हजारसम्म फाइदा

आर्थिक विकासमा टेवा पुग्ने चार व्यावसायिक क्षेत्र छनोट Read Next

आर्थिक विकासमा टेवा पुग्ने चार व्यावसायिक क्षेत्र छनोट