बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिव बिष्णु पौडेलका पुत्र नविन पौडेलले उन्मुक्ति पाए । कारण थियो जग्गा फिर्ता गर्नु र अदालताको साक्षी बन्नु । ‘चोरेको सामान’ फिर्ता गरेर चोरी विरुद्धको मुद्दाबाट उम्कने गज्जबको नजिर स्थापित गरेको छ यसले । र, यसले भ्रष्टाचार प्रतिको ‘शून्य सहनशीलता’को नीति अंगिकार गरेका भनिएका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र उनको पार्टी नेकपाको सुशासन प्रतिको प्रतिबद्धताको पनि धोति फुस्काइदिइसकेको छ ।
हिजो बुधबार चिनियाँ राजदूतले एक अंग्रेजी दैनिकका सम्पादकलाई विज्ञप्ती जारी गरेर थर्काए पछि दिनभर सामाजिक सञ्जाल र मिडियामा तरङ्ग छायो । तर, उक्त तरङ्ग नसेलाउँदै आज बिहानै संभवत नेपाल राज्यको इतिहासकै सबैभन्दा चर्चित सञ्चार मन्त्री गोकुल बास्कोटाको एजेन्टसँग घूसको हिसाब किताब गरेकोे अडियो टेप सार्वजनिक भएपछि अझ ठूलो तरङ्ग छायो ।
गोकुल बास्कोटाले आफ्नो दुच्छर स्वभावका कारण धेरै ‘प्रशंसक’ हरु कमाएका कारण यो प्रकरणमा नुन–मसला अझै थपिएको छ । यही काण्डले पैदा गरेको तरङ्गले धकेलिएर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बिहानै छलफल गर्न बालुवाटार पसेका थिए ।
अब के होला ?
गोकुल बास्कोटाले राजिनामा देलान् ?
यी पंक्तिहरु लेख्दा लेख्दै दिइसकेछन् ।
सरकार पछिल्लो एकडेढ महिनामा रक्षात्मक अवस्थामा पुगेको छ । मिडिया र सम्पादकहरुसँगको ‘दूश्मनी’, यती ग्रुपसँग स्वंय प्रधानमन्त्रीको गर्दन जोडाइ, अर्थतन्त्रको शिथिलता र पार्टीका नेताहरुको पनि बलियो साथ नपाएका कारण सरकार र प्रधानमन्त्री रक्षात्मक अवस्थामा पुगेका हुन् ।
राजीनामा समस्याको मूल समाधान भने होइन । गोकुल बास्कोटाले दिएको राजीनामा भनेको करीब करीब नविन पौडेलले सरकारी जग्गा सरकारलाई नै फिर्ता गरेर सहयोग गरे जस्तै हो ।
प्रधानमन्त्रीले यसै बीचमा सम्पादकहरुलाई बोलाएर उनीहरुको कुरा ‘सुनेका’ छन् । यतीसँगको प्रेमका बारेमा टालटुले जवाफ दिएका छन् । स्कुलका केटाकेटीहरुलाई बालुवाटारमा बोलाएर आफूसँग अथाहा ज्ञान नभएको र आफू पनि सामान्य मानिस भएको बताएर आफ्नो ‘मोडेस्टी’ प्रर्दशन गरेका छन् । मिडियाहरुले सरकारका ‘राम्रो’ कामका बारेमा लेखेनन् भनेर सुस्केरा हालेका छन् । कर्मचारीहरुले टेरेनन् भनेर दिक्दारी पनि प्रर्दशन गरेका छन् । समग्रमा भन्दा उनी गलेका छन् ।
२–३ सय वर्ष राज गरेका, राज्यको सेनालाई आफ्नो ढोके बनाएका, केटाकेटी देखिनै बन्दुक खेलाएका राजामहाराजाहरु समेत राजनीतिक रुपमा अप्ठ्यारोमा परेका बेला गलेर तुरुक्क आँसु झार्छन् भने आफ्नो दुई तिहाइ उमेरसम्म भातै खान पनि रहर भएका भनिएका सामान्य मानिस गल्नु खासै अनौठो होइन ।
उनी यसरी गलेका बेला आफ्ना ‘जेठा छोरा’ समान प्रिय पात्रलाई, ‘बाबु भैगो । हुन्दे । अहिले छाड्दे, पछि म मिलाउँला’, भनेर भने हुनन् ।
यसमा धेरै राजनीतिक र सैद्धान्तिक व्याख्याको जरुरत नै छैन । यो सरकार भनेको नै खड्गप्रसाद शर्मा ओली हुन् ।
वा, शर्मा ओली नै सरकार हुन् ।
तर, राजीनामा समस्याको मूल समाधान भने होइन । गोकुल बास्कोटाले दिएको राजीनामा भनेको करीब करीब नविन पौडेलले सरकारी जग्गा सरकारलाई नै फिर्ता गरेर सहयोग गरे जस्तै हो ।
को हुन् गोकुल बास्कोटा ?
गोकुल बास्कोटा साँच्चै भन्ने हो भने कोही पनि होइनन् । सरकारमा उनको मानवीय हैसियत केही पनि थिएन । उनी सरकारको नेतृत्वकर्ता ओलीसँग छलफल गर्ने वा बहस गर्ने हैसियत राख्ने व्यक्ति होइनन् । उ बेलामा राणाका दरबारमा राखिने हुक्के, बैठके, पटुके वा बढारकुढार गर्ने सामान्य व्यक्तिको जस्तो मात्र हो गोकुल बास्कोटाको हैसियत ।
त्यसैले उनको प्रस्तुतिमा प्रधानमन्त्री ओली कै प्रभाव झल्किन्छ । उनी ‘मिनी’ ओली हुन् ।
सरकारको एक एक आलोचना र कटाक्षको ट्याउँ ट्याउँ जवाफ दिने अरु कोही होइनन् । स्वयं ओली र उनका प्रिय मन्त्री गोकुल बास्कोटा नै हुन् ।
ओलीको प्रस्तुति, दृष्टिकोण इत्यादी हेर्ने हो भने पनि यो पुष्टि हुन्छ नै । ओलीको व्यवहार र चरित्रमा बारेमा लेखक खगेन्द्र संग्रौला ट्वीटरमा लेख्छन्, ‘ओली सरकारको बाँकी कार्यकाल पनि आफूप्रतिका एक एक आलोचना र कटाक्षको ट्याउँ ट्याउँ जवाफ दिँदैमा नाश हुने भो । गाँठ्ठे ! यति अंहकारी, असहिष्णु र दुच्छर प्रधानमन्त्री यस भूखण्डमा न भूतो न भविष्यति’ !
सरकारको एक एक आलोचना र कटाक्षको ट्याउँ ट्याउँ जवाफ दिने अरु कोही होइनन् । स्वयं ओली र उनका प्रिय मन्त्री गोकुल बास्कोटा नै हुन् । उनले हालै, ‘जब कसैले सरकारको विरोध गर्छ र उसको आँखा गोकुल बास्कोटा तर्फ पर्छ भने उ चुप लाग्छ’, भनेर उनले गोकुल बास्कोटाको उद्दण्ड शैलीलाई उनकै क्षेत्रमा गएर ‘इन्डोर्स’ गरेकै हुन् ।
यसैगरी आफ्नो अर्को ट्वीटमा संग्रौला लेख्छन्, ‘विज्ञान, दर्शन, अर्थशास्त्र, सौन्दर्यशास्त्र , समाजशास्त्र, साहित्य, कला, संगित, बाँसुरी, ब्याटिङ, बक्सिङ, ढुसिङ आदि ओली सरले नजानेको केही छैन…..’ । गोकुल बास्कोटा पनि उनको बोस जस्तै यी सबै क्षेत्रमा ‘पारङ्गत’ व्यक्ति हुन् ।
अब सैद्धान्तिक कोणबाट हेरौं ।
नेपालले हाल अवलम्बन गरेको व्यवस्था भनेको संसदीय व्यवस्था हो । यस्तो व्यवस्थामा सरकार प्रतिको मूल दायित्व र जवाफदेहिता प्रधानमन्त्रीको हुन्छ । मन्त्रीहरु भनेको प्रधानमन्त्रीको सहयोगी मात्र हुन् ।
यस्तो व्यवस्थामा सबै सहायक नेतृत्वको चरित्रमा मूल नेतृत्वको चरित्र हावी हुनु स्वभाविक हो । उदाहरणको लागि भारतमा मोदीको चरित्र उद्घाटन गर्न स्मृति इरानीको चरित्र हेरे हुन्छ । अनी नेपालमा गोकुलको चरित्र ओलीको चरित्रको पृष्ठभूमिमा राखेर हेरिनु पर्छ ।
यसै सन्दर्भमा मानवशास्त्री सञ्जीव पोखरेल ट्वीटरमा लेख्छन्, ‘बास्कोटा र बालुवाटारका अन्य बिचौलिया संलग्न भएका कमिशन र घोटालाबारे प्रधानमन्त्री अनभिज्ञ होलान् भन्ने बुझाई यो शताब्दीकै सबभन्दा ‘सकारात्मक’ सोच होला’ ।
यो भनाईलाई थप पुष्टि गर्नका लागि प्रधानमन्त्री कहाँ यो अडियो १ डेढ महीना अघि नै पुगेको तथ्य बाहिर आइसकेकै छ ।
अन्तमा, गोकुल बास्कोटा र उनी संलग्न यो काण्ड रुप हो भने प्रधानमन्त्री ओली र टेप पाएपछिको उनको मौनता (र, यसै सन्दर्भमा बास्कोटालाई थप जिम्मेवारी दिने कार्य) सार हुन् ।
बास्कोटाको राजीनामासँगै यो काण्ड सेलाउनु हुँदैन । यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनैपर्छ । ‘जेठो छोरो’ को ठाउँमा अर्को ‘कान्छो छोरो’ ल्याएर भर्ती गर्ने अनी भ्रष्टचारीको मुखै हेर्दिन भनेर फेरि अर्को राजनीतिक ‘छ्याकन’ हान्ने अवस्था आउन दिनु हुँदैन ।
‘सन्तान छैनन्, रोगी छु वा जीवनको उत्तराद्र्धमा छु, त्यसैले किन पो भ्रष्टचार गरौंला र ?’ भन्नु भनेको भष्टचारको बारेमा अति नै सतही दृष्टिकोण सार्वजनिक गरेर उम्कन खोज्नु मात्र हो ।
खास्टोले बिरालो छोपेर छोपिँदैन । म्याउँ म्याउँ गर्छ गर्छ ।