काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना सम्बन्धी सम्पूर्ण काम रोक्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार बसेको समितिको बैठकले सरकारलाई सेक्युरिटी प्रेसको काम अगाडि नबढाउन निर्देशन दिएको हो ।
सेक्युरिटी प्रिन्टिङ खरीद तथा स्थापनाका लागि सरकारले गरेको जीटुजी प्रस्ताव प्रतिष्पर्धात्मक नभएको, स्वीस कम्पनीको प्रस्तावलाई वेवास्ता गरिएको, कम्पनीहरूको प्रस्तावित मूल्यमा ठूलो भिन्नता भएको लगायत कारण देखाई त्यसबारेमा अध्ययन गर्नुपर्ने भन्दै समितिले काम रोक्न निर्देशन दिएको हो ।
समितिले थप अध्ययन गरेर नयाँ निर्णय नगर्दासम्म सेक्युरिटी प्रेस सम्बन्धी कुनै पनि काम अघि नबढाउन भनेको छ ।
साथै बैठकले सेक्युरिटी प्रेसको विषयलाई लिएर सामाजिक सञ्जालमा सांसद र सिंगो समितिको प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने काम भएको भन्दै त्यसबारे पनि उपसमिति बनाई छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।