‘रेडबुल’को उत्पादन विश्वका सबैलाई बाँड्न पुग्ने, लगानीकर्ता अर्बपति

विख्यात ‘इनर्जी ड्रिङक’ रेडबुलको व्यापार गत वर्ष अत्याधिक बढेको छ । अस्ट्रियन ब्रान्ड रेडबुलले गत वर्ष विश्वका सबै मानिसहरूलाई एक-एक क्यान वितरण गर्न पुग्ने परिमाणमा रेडबुलको उत्पादन गरेको थियो ।

 

रेडबुलको विक्री गत वर्ष ७.५ अर्ब क्यान भएको कम्पनीले जनाएको छ । उत्पादनको विक्री अत्याधिक रूपमा ब्राजिल, भारत र अफ्रिका जस्ता उदाउँदा बजारमा भएको हो । हाल विश्वमा करीब ७.७ अर्ब मानिस छन् । कम्पनीले खेलकुदको क्षेत्रमा धेरै र आक्रामक रूपमा प्रायोजन गरिरहेको छ ।

 

उच्च व्यापारका कारण कम्पनीको कारोबारमा ९.५ प्रतिशतको बढोत्तरी भएर ६.६ अर्ब डलर पुगेको छ । कम्पनीले नाफा भने खुलाएको छैन । तर, नाफामा पनि आकर्षक बढोत्तरी भएको कम्पनी स्रोतले बताएको छ । यसको मतलब कम्पनीका अर्बपति मालिकहरुको सम्पत्ति पनि राम्रैसँग बढेको अनुमान गर्न गाह्रो छैन । कम्पनीले सन् २०१९ मा ५० करोड युरो लाभांश वितरण गरको थियो ।

 

कुनै समय हाँस पाल्ने किसान र सानोतिनो व्यवसाय गरिरहेका थाइल्याण्डका च्यालियो योभिद्याले अस्ट्रियन मार्केटिङ पन्डित डेट्रिच माट्चेससँग मिलेर सन् १९८७ मा यो कम्पनीको स्थापना गरेका थिए । माट्चेसले च्यालियोको कम्पनीले बनाइरहेको इनर्जी ड्रिङ्कको राम्रो सम्भावना देखेका थिए, व्यवसायीक भ्रमणको बेला ‘जेट ल्याग’ भएर केही पिय पदार्थ खोजिरहेका बखत ।

 

रेडबुलको स्वामित्व माट्चेस र योभिद्याको परिवारसँग रहेको छ । उनीहरुले पत्ता लगाएर र प्रभावकारी बजारिकरण गरेको ‘टनिक’ले उनीहरु दुवैलाई अर्बपति बनाएको छ । माट्चेस हाल अस्ट्रियाको सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति १२.४ अर्ब डलर रहेको छ ।

 

उनीहरूले यो वर्ष जति रेडबुल बेचे, त्यो भनेको दैनिक २ करोड र प्रत्येक घण्टा ८ लाख ५० हजार क्यानको विक्री हो । वृद्धि सबैभन्दा बढी भारतमा रहेको छ । भारतमा व्यापार ३७ प्रतिशतले बढेको छ भने ब्राजिलमा ३० र अफ्रिकामा २५ प्रतिशतले व्यापार बढेको छ ।

बैंक तथा वित्तीय क्षेत्रको समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन Read Previous

बैंक तथा वित्तीय क्षेत्रको समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

फास्ट ट्रयाको विकल्पको रूपमा रहेको कान्ति लोकपथको निर्माण ६० प्रतिशत पूरा Read Next

फास्ट ट्रयाको विकल्पको रूपमा रहेको कान्ति लोकपथको निर्माण ६० प्रतिशत पूरा