फास्ट ट्रयाको विकल्पको रूपमा रहेको कान्ति लोकपथको निर्माण ६० प्रतिशत पूरा

काठमाडौं । सरकारले पहिलो प्राथमिकता (पी वान) मा राखेको आयोजना कान्ति लोकपथको निर्माण झण्डै ६० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको अवधि एक वर्ष बाँकी रहँदा झण्डै ४० प्रतिशत काम बाँकी रहेको हो ।

 

आगामी वर्षसम्म सम्पन्न गर्ने गरी सबै खण्डको ठेक्का सम्झौता भइसकेको कान्ति लोकपथ आयोजनाले जनाएको छ । मकवानपुर जिल्लाभन्दा ललितपुर जिल्लामा भौगोलिक बनावट कठिन भएकाले काम गर्न सहज नभएको उनको भनाइ छ ।

 

आयोजनाअन्तर्गत झण्डै ४६ किमी सडक कालोपत्र भइसकेको छ । अहिले सहज ठाउँमा मात्रै कालोपत्र अघि बढेको उनले बताए। उनले भने, “विगतका वर्षहरुमा पहिरो गइरहेका ठाउँमा अहिले पहिरो व्यवस्थापनकै काम भइरहेको छ ।”

 

ललितपुरको सातदोबाटोदेखि मकवानपुरको हेटौँडासम्मको सडकको लम्बाइ झण्डै ९० किलोमिटर रहेकामा झण्डै ७९ किमी मात्रै आयोजनाले निर्माण गरिरहेको छ । एघार किमी सहरी सडक भएकाले काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण गरिरहेको छ । टिकाभैरवदेखि आयोजनाले हेर्ने अधिकांश स्थानमा ठूलाठूला पहिरो र चट्टान रहेको छ । यी ठाउँमा चट्टान काट्ने, मोड सुधारलगायत काम भइरहेको प्रमुख झाले बताए। उनले भने, “यी काम सकिएपछि नै ती ठाउँमा कालोपत्र हुनेछ ।”

 

यस सडकमा ठाउँठाउँमा गएको पहिरोका कारण गत वर्षाको समयमा झण्डै ३० करोड रुपैयाँ क्षति भएको सडक विभागले जनाएको छ । असार र साउन महिनाको वर्षा र त्यसका कारण भएको पहिरोले क्षति पुर्याएको सडकमा अहिलेसम्म पनि मर्मतका काम भइरहेको छ । विभिन्न स्थानमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो भने कतिपय स्थानमा पहिरोले ट्रयाक नै बगाएको थियो ।

 

ललितपुरतर्फ भालुखोला नजिकका स्थानमा र मकवानपूरतर्फ ठिङ्गनमा गरी झण्डै चार सय मिटर सडकमा पहिरोले ट्रयाक बगाएको थियो । सडकमा दुईतीन घर परेकामा तीनको मुआब्जा दिने प्रक्रियाअघि बढेको प्रमुख झाले जानकारी दिए । त्यसबाहेक यस सडकमा सडकको अधिकार क्षेत्र (राइट अफ वो) मा ठूलो समस्या रहेको छैन । सडकको उपलब्धता र त्यहाँको आवश्यकतानुसार सातदेखि ११ मिटर चौडाइको सडक निर्माण भइरहेको हो ।

 

उनले भने, “कम्तीमा दुई लेन चौडाइ हुने गरी निर्माण भइरहेको छ ।” सडकमा तीन पुल निर्माण सम्पन्न भइसकेको छ । वि.सं. २०१६ मा नेपाली सेनाले सो सडकको निर्माण शुरु गरेकामा लामो समयसम्म यो सडक सरकारको प्राथमिकतामा परेको थिएन । निर्माण शुरु भएको छ दशकपछि लोकपथ अन्तिम चरणमा पुगेको छ । वि.सं. २०७२/७३ पछि सडक सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

 

सरकारले यो सडकलाई पहिलो प्राथमिकता (पी वान) मा राखेसँगै योजना कार्यालयको स्थापना भएको हो । सरकारले एक दशकयता वर्षेनी सडकका लागि बजेट विनियोजन गर्दै आएको छ । यो सडकमा निर्माण शुरु हुँदा लम्बाइ ९२ किलोमिटर रहेको थियो । चौडाइ कम हुँदा लम्बाइ बढी देखिएको र अहिले ९० किलोमिटर पुगेको छ । नब्बे किमीमध्ये ७९ किलोमिटर ललितपुरमा र २८ किलोमिटर मकवानपुर जिल्लामा पर्छ ।

 

मकवानपुरतर्फ डेढ किलोमिटर र ललितपुरतर्फको चार किलोमिटर सडकलाई फराकिलो बनाउन ढुङ्गा विस्फोटन गर्न आवश्यक रहेको बताइएको छ । यो सडकमा गत वर्षदेखि नै अहिले सवारीसाधन आवतजावत गर्न थालिसकेका छन् । सडक चौडा र नाली बनाउने तथा कालोपत्रको काम भइरहेको छ । निर्माणाधीन यो सडकलाई हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको २२६ किलोमिटर लम्बाइको हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ आउने १३६ किमी सडकको विकल्पका रुपमा समेत हेरिएको छ ।

 

यो सडक निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब  ८५ करोड र ललितपुरमा १ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको थियो । प्रदेश नं ३ को राजधानी हेटौंडा तोकिएपछि पनि यो सडकको महत्व अझै बढेको छ । सङ्घीय राजधानीलाई तराई/मधेससँग जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा काठमाडौँ–तराई/मधेस द्रतमार्गलाई लिइन्छ । यो सडकको विकल्पका रुपमा समेत कान्ति लोकपथलाई लिइन्छ । रासस

‘रेडबुल’को उत्पादन विश्वका सबैलाई बाँड्न पुग्ने, लगानीकर्ता अर्बपति Read Previous

‘रेडबुल’को उत्पादन विश्वका सबैलाई बाँड्न पुग्ने, लगानीकर्ता अर्बपति

पुनर्बीमा कम्पनीलाई १ अर्ब ६० करोडको आईपीओ निष्काशन गर्न बोर्डको अनुमति Read Next

पुनर्बीमा कम्पनीलाई १ अर्ब ६० करोडको आईपीओ निष्काशन गर्न बोर्डको अनुमति